बर्दिवास नगरपालिकामा उम्मेद्वार टुङ्गोलागाउन सत्ता गठबन्धनदेखि प्रतिपक्षसम्मलाई सकस


महोत्तरी । महोत्तरी जिल्लाकै सबैभन्दा बढी मतदाता भएको बर्दिबास नगरपालिकामा २८ वटा मतदानस्थल र ५८ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचन आयोगको अनुसार नगरपालिकामा मात्र ४४ हजार चार सय ६० जना मतदाता छन् । त्यस्तै यसपटक उपमहानगरपालिका बन्ने चर्चा चलिरहेका बेला जिल्लाका १५ पालिकामध्ये बर्दिबासमा निर्वाचनपछि कसले सत्तारोहण गर्छ भन्ने बहस छ ।

त्यस्तै नगरभित्र दलहरू उम्मेदवार तय गर्न तल्लो तहदेखि माथिल्लो तहसम्म छलफल गरिरहेका छन् । तर, दलका आकांक्षीको चर्चासँगै उनिहरुको चरित्र र क्षमताको लेखाजोखा पनि बढ्को छ ।
सत्तारुढ दलहरूले गठबन्धन गर्ने निर्णय गरेपछि गठबन्धन दलहरू साझा उम्मेदवारको तानातानमा छन् । यता नगरभित्र संगठनिक संरचनाको हिसाबले गठबन्धन दलहरु मध्ये माओवादी र नेपाली काँग्रेसले सत्ताको दावी गरेको छ भने अन्य दलहरु आफ्नै तरिकाले उम्मेदवार छनौटमा छन ।

माओवादी केन्द्रबाट राजु खडका, प्रकाश पोखरेल, विदुर कार्की, राजन ढुंगाना, शंकर महतो, रुद्र सुस्लिङ्गले दावी गरिरहेका छन् । यता नेपाली काँग्रेसबाट चिरञ्जीवी हमाल र प्रह्लाद क्षेत्रीको दावी छ । तर, संख्यात्मक हिसाबले जसको जेजस्तो दावी भए पनि दुवै पार्टीबाट एउटा साझा उम्मेदवार बन्ने करिब निश्चित छ ।

यता नेकपा एमालेपनि गाउँगाउँमा पुगेर संगठनिक संरचना निर्माणदेखि आफ्नो माहोल बनाउन अन्य दलको तुलनामा अगाडि छ । तर, टिकटको प्राप्तिका लागि पार्टीभित्र नै आकांक्षीहरू दौडधुपमा लागेको देखिन्छ । एमालेबाट टेकबहादुर बलम्पाकी, चन्द्रबहादुर क्यापछाकी, शारदादेवी थापा, केदारबहादुर बस्नेत, फाल्गुण सुस्लिङ्ग मगरको दावी छ । त्यस्तै टेकबहादुर बलाम्पाकी र फाल्गुन सुस्लिङ्ग मगर माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका पात्र हुन् ।

प्रतिक्रिया
नागरिक मिरर