इलोन मस्कले ट्विटर खरिद गर्न जुटाए ४६ अर्ब ५० करोड डलर

एजेन्सी । अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्न रकम जुटाएका छन्। अमेरिकी मिडियाहरुका अनुसार त्यसका लागि उनले बैंक तथा वित्तीय संस्थाहरुबाट ४६ अर्ब ५० करोड डलर जुटाउने प्रतिबद्धता पाएको बिहीबार बताएका छन् । एक हप्ताअघि मात्रै उनले चर्चित सामाजिक सञ्जाल ट्विटर खरिदको प्रस्ताव गरेका थिए । अहिले भने उनले खरिदको लागि रकम तोकेरै प्रतिबद्धतापत्र तयार गरेको बताएका छन् । त्यसमा मोर्गान स्ट्यान्ले

बैंक र अन्य वित्तीय संस्थाहरु तथा एउटा आफ्नै सेयर प्रतिबद्धता समेत रहेका छन् । उक्त प्रतिबद्धतापत्र उनले बिहीबार नै सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा दर्ता गरेका छन् । उक्त पत्रमा उनले ट्विटरको बोर्डबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको उल्लेख गरेका छन् । उनले ट्विटरको सबै सेयर प्राप्ति गर्न चाहिरहेका छन् ।

उनले अहिले आफ्नो स्वामित्वमा नरहेको सेयर प्रतिकित्ता ५४.२० डलरमा खरिद गर्ने बताएका छन् । यदि यो सम्झौता भए ट्विटर ४१ अर्ब डलरवरिपरि मूल्यवान् कम्पनी बन्नेछ । उनले सम्झौताका लागि छलफलमा बस्न तयार रहेको बताएका छन् । तुरुन्तै यससम्बन्धी छलफल गर्न उनी तम्तयार देखिएका छन् । यसअघि उनले अन्तिम प्रस्ताव समेत भनेका थिए । मस्कले किन्ने प्रस्ताव गरेपछि त्यसका लागि उनले लगानी गर्न सक्ने नसक्नेबारे बहस हुँदै आएको छ । उनी संसारकै धनी भए पनि उनको धेरैजसो सम्पत्ति टेस्लाको सेयर स्वामित्वमा आधारित छ ।

सोही कारण केहीले उनले ट्विटर किन्नको लागि ऋण जुटाउन नसक्ने अनुमान समेत गर्दै आएका थिए । यसअघि ट्विटरको बोर्डले मस्कको प्रस्तावविरुद्ध निर्णय गर्दै ट्विटर हत्याउन केही कठिन हुने निर्णय गरेको थियो ।

प्रतिक्रिया
नागरिक मिरर