अवैध रुपमा ल्याइएको चिम्पाञ्जी : सर्वसाधरणका लागि अवलोकनमा

सदर चिडियाखानाले सर्वसाधारणको लागि पहिलो पटक एक जोडी चिम्पाञ्जी अवलोकन कक्षमा राखेको छ । जावलाखेलस्थित सदर चिडियाखानाले आज एक कार्यक्रमको आयोजना गरी चम्पा (पोथी) र चिम्पु (भाले) नाम गरेका एक जोडी चिम्पाञ्जी अवलोकनका लागि सार्वजनिक गरेको हो ।

अवैध रुपमा ल्याइएका चिम्पाञ्जीलाई वि.सं. २०७४ असोजमा केन्द्रीय अनुसन्धान ब्युरोले उद्धारगरी सदर चिडियाखानालाई दिएको हो । सोही अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेल तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले चिडियाखाना परिसरमा चिम्पाञ्जीको नवनिर्मित घरको पनि उद्घाटन गरेका हुन्।

त्यस्तै जनावरको जोडीलाई राजी राणा ट्रष्टको राजी राणाले वार्षिक रु १० लाख उपलब्ध गराएर अभिभावकत्व लिएका छन् । मुख्यतया अफ्रिकामा पाइने यस जनावरको प्राकृतिक वासस्थान नदीतटीय, घाँसे मैदान, वन तथा झाँडी हो । यसको औसत तौल भने ४० देखि ६० केजीसम्म रहने गरेको छ ।

चिडियाखानाका प्रमुख व्यवस्थापक रचना शाहले चिम्पाञ्जी अवलोकनका लागि राखेसँगै यहाँको आकर्षण बढेको भन्दै अवलोकनकर्ता बढ्ने विश्वास व्यक्त गरेकि छिन्। त्यस्तै चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जनावर रहेका छन् । जहाँ मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा रहेका छन् । ती प्रजातिमध्ये ३३ स्थनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको शाहले बताइन् ।(रासस)

प्रतिक्रिया
    ट्याग: