स्थानीय तह निर्वाचनको लागि आजदेखि मनोनयन दर्ता सुरु, कुन पदका लागि कति लाग्छ शुल्क ?

काठमाडौँ । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आजदेखि मनोनयन दर्ता सुरु हुँदैछ ।

निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ताका लागि समय तोकेको छ ।

निर्वाचन आयोगले आज र भोलिमा आफ्नो अनुकूल समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले मनोनयन दर्ता गर्न सक्ने पनि जनाएको छ ।

स्थानीय तहको मतदाता नामावलीमा नाम भएका र २१ वर्ष उमेर पुगेका तर, फैजदारी अभियोग नलागेका जोसुकै नेपाली नागरिकले उम्मेद्वारी दिन सक्ने आयोगले जनाएको छ ।

उम्मेद्वारको लागि सम्बन्धित पालिकाका मतदाता मध्येबाट एकजना प्रस्तावक र एकजना समर्थक आवश्यक पर्नेछ । नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउनका लागि १ हजार ५ सय रूपैयाँ धरौटी राख्नुपर्छ भने महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिले मनोनयन दर्ताका लागि ७ सय ५० रूपैयाँ शुल्क मात्र तिर्नु पर्नेछ ।

यस्तै वडाध्यक्षमा उम्मेदवारी दिन १ हजार रूपैयाँ शुल्क लाग्ने छ भने वडा सदस्यका लागि ५ सय रुपैयाँ लाग्नेछ ।

उम्मेदवारलाई मनोनयन दर्ताका लागि जाँदा ३ बाई ३ आकारको एउटा मात्र झण्डा प्रयोग गर्न आयोगले अनुरोध गरेको छ । कुनै दलको झण्डा, चिह्न भएको भेष्ट, टोपी, गम्छा नलगाउन र त्यस्ता चिन्ह अंकित झोला नबोक्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ ।

यस्तै आयोगले ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै मतपत्र छपाइ हुने जानकारी दिएको छ ।

प्रतिक्रिया