स्थानीय तह निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने अन्तिम दिन, पहिलो दिन महिला उम्मेदवारको सङ्ख्या न्यून

काठमाडौँ । आउँदो वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि आज मनोनयन गर्ने अन्तिम दिन रहेको छ ।

निर्वाचन आयोगले मनोनयनको लागि आइतवार र आजका लागि मनोनयन दर्ता गराउन सक्ने समय तोकेको छ । जस अनुसार आइतवार पहिलो दिन देशभरका विभिन्न स्थानीय तहको पदका लागि १० हजार ५ सय ३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महिलाको सङ्ख्या ३ हजार ५ सय ६ रहेको छ ।

पालिका प्रमुख र अध्यक्षमा ९ सय ८७ जनाले उम्मेदवारी दिएका छन् । जसमा पुरुष ९ सय १० र महिला ७७ जना रहेका छन् । उपप्रमुख र उपाध्यक्षमा ५ सय ८ जनाले उम्मेदवारी दिएका छन् । जसमा पुरुषभन्दा महिला बढी छन् । उपप्रमुख र उपाध्यक्षमा पुरुष १ सय १३ र महिला ३ सय ९५ जना छन् ।

यस्तै वडाध्यक्षमा २ हजार ९ सय २१, वडा सदस्यमा ३ हजार ३ सय ३८, महिला वडा सदस्यमा १ हजार ५ सय ७६, दलित महिला सदस्यमा १ हजार २ सय ३ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

आइतवार उम्मेदवारी दर्ता गराउने मध्ये अधिकांश स्वतन्त्र र साना दलका उम्मेदवारहरू मात्रै रहेको आयोगले जनाएको छ । मुख्य ठूला दलहरू बीचको तालमेल र गठबन्धनका कारण हिजो उम्मेदवार परेन । तर, आज नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजदावी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका उम्मेदवारले मनोनयन दर्ता गराउने छन् ।

आयोगले मनोनयनको समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको लागि तोकेको छ । निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउने अन्तिम प्रयासमा दलहरू बिहानैदेखि छलफलमा जुटेका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज मनोनयन सकिए पछि भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने कार्यतालिका रहेको छ ।

१५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

१७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम आयोगले जनाएको छ ।

प्रतिक्रिया