आज उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी दिने समय

काठमाडौं । देशभरका स्थानीय तहमा उम्मेदवारी मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी पुगेको छ ।

निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी १ लाख ३७ हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् । विवरण थपिने क्रम जारी छ ।

देशभरका २ सय ९३ नगरपालिकामा ३ हजार २ सय ७६ जनाले नगरप्रमुख (मेयर) पदमा उम्मेदवारी दिएका छन् । उपप्रमुख (उपमेयर) पदमा २ हजार ९ जनाको मनोनयन परेको छ ।

यस्तै ४ सय ६० गाउँपालिकामा अध्यक्षका लागि ३ हजार २ सय ६४ जनाको मनोनयन परेको छ । २ हजार २ सय ९७ जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो । वैशाख ३० मा स्थानीय तहमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि निर्वाचन हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचन आयोगले आज उम्मेदवारको विरोधमा उजुरी दिन भनेको छ । त्यस्तै वैशाख १४ र १५ मा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

वैशाख १६ मा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया