प्रदेश सरकार ‘देखिने सरकार’ भएकाले प्रदेशको सफलता छ :जीवनबहादुर शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको सफलतामा प्रदेश सचिवको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । ‘सहकार्य, समन्वय र सुसंस्कृत संसदीय अभ्यासका लागि प्रदेशसभाका सचिवबीचको अन्तक्र्रिया’ कार्यक्रमलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले प्रदेशका सचिव नै सरकारको मुख्य सल्लाहकार भएको बताएका हुन् ।

मुख्यमन्त्री शाहीले राजनीतिक उतारचढावका बीच प्रदेशसभा र प्रदेश सरकारले संवैधानिक दायित्व निर्वाह गर्न सफल भएको दाबी गरेका छन् । प्रदेश सरकार ‘देखिने सरकार’ भएकाले प्रदेशको सफलतामा सचिवको भूमिका महत्वपूर्ण रहेको उनकाे भनाइ थियो । साथै उनले विगतमा कर्णालीमा सचिवलगायतका उच्च तहका कर्मचारी आउन नमानेकाले बजेटमै कर्मचारी प्रोत्साहनको व्यवस्था गरेको जनाएका छन् । कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कानून निर्माणमा प्रदेश सचिवको योगदान अझ बढी रहेको धारणा राखेका हुन् । प्रदेश पहिलो संरचना भएकाले यसको जग निर्माणदेखि नै सचिवले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।

‘विधि प्रक्रिया भनेका समाजका ऐना हुन्, ती विधि प्रक्रिया निर्माणमा सचिवको योगदान महत्वपूर्ण छ’, उनले भने, ‘नियमित प्रशासनिक कार्यको नेतृत्वदेखि विधायिकीय काममा सचिवले धेरै मद्दत पुर्‍याउएकाे छ, माथिल्लो तहका कर्मचारी आउन नचाहने कर्णाली प्रदेशमा सचिवले निभाएको भूमिका झन धेरै छ ।’

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले प्रदेशसभाले हालसम्म गरेका गतिविधिबारे प्रकाश पारेका हुन् । कार्यक्रममा प्रदेशसभा सदस्य पद्मा खड्का, राजु नेपालीलगायतले प्रदेशसभामा काम गर्दाको सिकाइको चर्चा गरेका छन् । कर्णाली प्रदेशसभाद्वारा आयोजित उक्त कार्यक्रममा बागमती, लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णालीका प्रदेश सचिवको सहभागिता रहेकाे थियो ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: