मंगलबार रातिदेखि ७२ घन्टासम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

काठमाडौं । सरकारले मंगलबार रातिदेखि ७२ घन्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ ।

वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो ।

मतदानको दिनभन्दा अगाडिको ७२ घन्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ ।

नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने छ ।

प्रतिक्रिया