मौन अवधि सुरु हुनु अघि दलका नेता र उम्मेदवारहरूको चुनावी अभियान तीव्र

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन अब ४ दिन मात्रै बाँकी छ ।

भोलि मध्य रातिदेखि मौन अवधि सुरु हुने भएका दल र उम्मेदवारहरू चुनावी अभियान र प्रचार प्रसारमा व्यस्त छन् ।

मौन अवधि सुरु भएपछि चुनावसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने भएकाले सकेसम्म धेरैभन्दा धेरै स्थानमा पुग्ने र मतदातालाई आफ्नो पक्षमा मतदान गर्नका लागि उम्मेदवार र दलका नेताहरू लागि रहेका छन् ।

यसै क्रममा आज सत्ता गठबन्धनले कैलालीको धनगढीमा चुनावी सभाको आयोजना गर्न लागेको छ ।

चुनावी सभालाई नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बधोन गर्ने तय भएको छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री फरमुल्लाह मन्सुरलगायत अन्य नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी सभामा सहभागी हुन देउवा र प्रचण्ड हिजो नै धनगढी पुगिसक्नुभएको छ । देउवा आजै गृहजिल्ला डडेल्धुरा पनि जानु हुने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आज विभिन्न तीन वटा चुनावी सभालाई सम्वोधन गर्ने छन् ।

अध्यक्ष ओलीले बिहान ११ बजे पोखरामा हुने सभालाई सम्वोधन गर्ने र दिउँसो ललितपुर अनि काठमाडौँको कीर्तिपुरमा आयोजना हुने चुनावी सभालाई सम्वोधन गर्ने उहाँको निजी सचिवालयले जनाएको छ । अध्यक्ष ओली आज साँझ झापा जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया