कर्जन्हाका मेयर प्रत्यासी दास भन्छन्,-‘नारा होइन काम गरेर देखाउँछु’

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाको उम्मेदवार अरुण कुमार दासले आफ्नो उम्मेदवारी राजनीतिक दलको स्वार्थभन्दा पनि जनताको सेवाको लागि भएको बताएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका दासले रहर र स्वार्थभन्दा पनि नगरपालिकामा देखिएको बेथिति र भ्रस्टाचारविरुद्ध लड्ने बताए ।

उनले कर्जन्हा नगरपालिका सँधै पछाडी परेको, सबै राजनीतिक स्वार्थको पछाडी लागेको र स्थानीय तहको निर्वाचनमा पार्टीभन्दा माथि उठेर नगरपालिकाको सम्मुन्नत विकास र यहाँको बेथितिविरुद्ध आवाज उठाउँदै आएकाले नगरप्रमुखमा जितेर यसलाई जरैदेखि अन्त्य गर्ने बताए ।

तपाईंको उम्मेदवारी किन रु भन्ने प्रश्नमा उनको जवाफ छ, ‘यहाँको विकासका लागि सँधै गरिब र दलितको नारा लगाइयो । तर, ती नारा नारामै सिमित भए । गरिबी उत्थान र दलित सशक्तिकरणको लागि कसैले चासो लिएन । तसर्थ, मेरो उम्मेदवारी यसको लागि पनि हो । शिक्षा र स्वास्थ्यको अवस्थालाई पहिलो प्राथमिकतामा राखेर म काम गर्ने छु । कृषकको लागि चाहिने सीप, बजार र दक्ष प्राविधिकसहित कृषिको आधुनिकीकरण र कृषिमा लगानीको लागि सहकारी अनि बैङ्कहरूमा सहज र कम ब्याजदरको ऋणको लागि पहल गर्ने छु ।’

तपाईंको प्रतिबद्धताबारे बोल्दै उनले बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई विकासको सबै निर्णय प्रक्रियामा सामेल गराई उनीहरूको धेरैभन्दा धेरै सहभागितासहितको योजना र बजेट बनाउने प्रतिबद्धता जनाए ।

के छ मेयर प्रत्यासी दासको योजनाः

खास गरी हाम्रो समाजमा रहेका छोरीबुहारीहरूको लागि सरकारी सेवामा प्रवेशका लागि लोकसेवा, प्रदेश लोकसेवा तथा अन्य रोजगारीको लागि सक्षम बनाउन विभिन्न सीपमुलक तालिम सञ्चालन गर्ने ।

बालहिंसा, महिला हिंसा र विभिन्न जातीय विभेदविरुद्ध विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर यसको न्यूनीकरण गर्न अग्रसरताका साथ काम गर्ने
जलवायु परिवर्तन र यसको असरलाई मध्य नजर गरी बजेट निर्माण तथा सम्पूर्ण नगरवासीलाई यसबारे सचेतना जगाउने

विद्यालय बाहिर रहेका तथा विद्यालयको वातावरण र राजनीतिकारणले विद्यालयको बेथितिलाई पहिलो प्राथमिकतामा राखी यसको सम्बद्र्धन र विकासका लागि लाग्ने

नगरपालिकाको प्रत्येक विद्यालयमा महिला तथा अपाङ्गमैत्री शौचालय निर्माणसँगै, छात्राहरूलाई महिनावारीको बेला सहज होस र उनीहरूको स्वास्थ्यमा कुनै समस्या नहोस् भनेर स्वच्छ र सफा शौचालयको व्यवस्थाका साथै निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने

प्रत्येक विद्यालयमा बालबालिका र विद्यार्थीहरूका लागि खेलकुद सामग्रीको व्यवस्थासँगै कुशल प्रशिक्षकको व्यवस्था गर्ने । विज्ञानमा बालबालिकाको रुची बढाउन विज्ञान प्रयोगशालाको पनि व्यवस्था गर्ने

कुनै पनि बच्चा र आमाको अकालमै मृत्यु नहोस त्यसको लागि सुविधा सम्पन्न र दक्ष जनशक्तिसहितको बर्थिङ्ग सेन्टरको स्थापना गर्ने । आफ्नो स्वास्थ्य, शिक्षा नीति, सक्षम र चुस्त प्रशाशन, घरघरमा ज्येष्ठ नागरिक भत्ताको लागि मेरो पहलकदमी रहने

‘हरित सहर सबैको रहर’ नारा साकार पार्न प्रत्येक वार्डमा स्थानीय सुहाउँदो वृक्षा रोपनको कार्यलाई अगाडी बढाई स्वच्छ र सफा सहर निर्माणमा आफ्नो उर्जा लगाउने । आगलागी नियन्त्रणको दमकल तथा बिरामीहरूको लागि पालिकाको आफ्नो निः शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने

उनी भन्छन्, ‘आजसम्म मेरो सम्पूर्ण जीवन यस समाजको सेवामा समर्पित गरेको छु र आगामी दिनमा पनि समाजको उत्थान र विकासका लागि लागिरहने छु । मैले समाजमा गरेको योगदान र मेरो योगदानको मूल्याङ्कन गरेर तपाईंहरूले म लगायत सम्पूर्ण नेपाली काँग्रेसको उम्मेदवारहरूलाई आफ्नो बहुमूल्य मतसहित विजयी गराउनु हुनेछ भन्ने आशा र विश्वास लिएको छु ।’

प्रतिक्रिया