श्रीलंकामा सरकार समर्थक र विरोधीबीच हिंसात्मक झडप,५ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

ऐजेन्सी । श्रीलंकामा सरकार समर्थक र विरोधिबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित ५ जनाको ज्यान गएको छ।

समाचार संस्था एएफपीका अनुसार घटनामा परी कम्तीमा १५० जना घाइते भएका छन्।

सत्ताधारी दलका सांसद अमरकीर्ति अथुकोरालले सोमबार सुरुमा सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाए, पछि आफूले आफैंलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ । यो घटना राजधानी कोलम्बोको बाहिरी इलाकामा भएको हो ।

त्यसपछि प्रहरी, सरकार समर्थक र विरोधीबीच भइरहेको लगातारको झडपमा परी थप ३ जनाको ज्यान गएको छ।

यसैबीच श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षले सरकार विरोधी प्रदर्शन तिब्र भइरहँदा राजीनामा दिएका छन् ।

राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई राजीनामा पत्र बुझाउँदै ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन् ।

श्रीलंकामा आर्थिक संकट चुलिएपछि नागरिकको आक्रोश बढेको छ । अभावबाट गुज्रिरहेका उनीहरुले सरकारविरुद्ध दिनहुँ विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया