मौन अवधि सुरु हुनु अघि बालेनले के भने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले मौन अवधि सुरु हुनु अधि आफु कुनै दलको मान्छे नभएकोले के गर्छ भन्ने प्रश्नलाई खण्डन गरेका छन । मौन अवधि सुरु हुनु करिब डेढ घण्टा अघि सामाजिक सञ्जालमा लेख्दै उनले आफु कुनै दलको मान्छे नभएकोले केहि गर्न सक्दैन भन्ने तर्कलाई खण्डन गरेका हुन् ।

सामाजिक सञ्जालमा आएका प्रश्नका आधारमा उनले ठुलो नेता र दलको जस्तो पहुँच नरहेता पनि सामान्य जनताको साथ रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन, ‘म तलको जरा हुँ । मसंग पानिसम्मको पहुँच छ ।’ मतदान गोप्य हुने भएकोले उनले मतदातालाई सोचविचार गरेर मतदान गर्न बताएका छन् । त्यस्तै उनले आफ्नो घरदौलो अभियानका क्रममा देखिएका भावुक फोटो हाल्दै उनले उल्लेख गर्छन, ‘हामी कसैलाई गाली गर्न आएका होइनौँ, बदला लिन आएका होइनौँ । गाली गर्दैनौँ तर सत्य भन्न पनि डराउँदैनौँ । ’

बालेनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :

म कुनै दलको मान्छे हैन । त्यसैले धेरैले मलाई भन्नुभयो, ‘यसको माथिसम्म पहुँच छैन । यसले के गर्छ ?’
उहाँहरुले भनेको ठीक हो । मेरो माथिसम्म पहुँच छैन । र, चाहिएको पनि छैन । तर मसँग तलसम्मको पहुँच छ । तलका जनतासम्मको पहुँच छ । यो पढिरहनु भएको तपाईंसम्मको पहुँच छ ।
म तलको जरा हुँ । मसँग पानीसम्मको पहुँच छ । माथि पुग्नु पर्ने म हैन । माथि पुग्नु पर्ने त जनता हो । म त तपाईंको लागि मलजल लिइदिने मात्रै हुँ । म जरा नै रहिरहुँ । रुख बनेर जनता माथि पुगून् । जनता टुप्पो बनुन् । म सँधै जरा बनिरहूँ । जनताबाट लिएको मलजललाई जनताकै हाँगाहाँगामा पुर्याऊँ । म माध्यम मात्रै बनूँ । माथि पुगेँ भने मेरो पानीसँग जोडिरहन पाउन्न । म जनतासँग जोडिरहन चाहन्छु । म तलै हुन चाहन्छु । सँधै तपाईंहरुकै पहुँचमा हुन चाहन्छु ।

तपाईंले ‘मैले दिएको मको के गरिस् ?’ भनेर मेरो कान समात्न मिल्ने ठाउँमा रहिरहूँ । म जरा नै भैरहूँ ।
सुरुमा एउटा र्यापरले फेमस हुन काठमाण्डौँको मेयरमा उठ्यो भनेर युवाको समाज बदल्ने अठोटलाई होच्याए । जब हाम्रो भिजन र क्षमताका बारेमा थाहा पाए, तब एक्लो मेयरले केहि गर्न सक्दैन भन्न थाले । जब महानगरबासीले अभुतपुर्वरुपमा हाम्रो पक्षमा समर्थन जनाउन थाले तब विभिन्न कुप्रचार र हल्लाहरु फैलाएर भ्रम पार्न खोजे । तर पनि महानगरबासीले हाम्रा लागि समर्थन कम गर्नु भएन, उल्टो बढाइदिनु भयो ।

अब माहौल हाम्रो पक्षमा आए पछि गलत मतपत्र देखाएर हाम्रो चुनाव चिन्ह ३५ मा पर्दैन भन्ने कुप्रचार सुरु गरेका खबर आइरहेका छन् । विपक्षीप्रति गरिने यहि गलत संस्कारले हाम्रो राजनीति बिग्रियो, समाजले सोचे जस्तो सेवा र विकाश पाएन । कसै न कसैले यो बन्द गर्न पर्छ । हामी कसैलाई गाली गर्न आएका होइनौँ, बदला लिन आएका होइनौँ । गाली गर्दैनौँ तर सत्य भन्न पनि डराउँदैनौँ ।
हामी प्रति गरिएका हल्ला र कुप्रचारहरु जसरी समयसँगै गलत सावित भए, त्यसरी नै महानगरबासीले ३५ नम्बरको लौरो चिन्हमा मत दिएर अहिलेको कुप्रचारलाई पनि गलत सावित गरिदिनु हुनेछ ।

https://www.facebook.com/balenOfficial/posts/549981703160756?__cft__[0]=AZUwmendd0RAALrnsCusBlwPwFwQg_hsPTk9gh2YN8MaCBzX0NgZC5FyzQUywVz2jEVo1AingAElBG0TTDyrhhPC7ffHS5r5RfotLMzmVg_ipQYOkgwWfxbXPCsOBr6uzQ3hwUpHSq_Lw8-07mJCltr6&__tn__=%2CO%2CP-R

तपाईले कुनमा मत दिनु भयो भने गोप्य हुन्छ । यो कहिलै कसैले पत्ता लगाउन सक्दैन । यसैले पार्टीगतरुपमा जता भए पनि तपाईले ३५ नम्बरको लौरो चिन्हमा मत हाल्न सक्नु हुन्छ ।
मलाई तपाईप्रति विश्वास छ । तपाईहरुले देखाउनु भएको समर्थनले मैले थप जिम्मेवारी र कर्तव्यका रुपमा बुझेको छु । मलाई थाहा छ, जनता भन्दा र जनताको विश्वास भन्दा ठुलो शक्ति केहि पनि छैन । हामी जित्नेछौँ । पक्का जित्ने छौँ ।

र, हामीले जति कोशिस गरे पनि सबै स्थानमा पुग्न सकेनौँ । त्यसो भन्दैमा हामीले ति ठाउँमा भएका महानगरवासीलाई वेवास्ता गरेको भन्ने नसोचिदिनुहोला । हामी अहिले आउन नपाएका हौँ तर अब आइरहने छौँ । घरदैलोमा हाम्रो एकनारा नै थियो, यसपटक लौरो, ५ बर्ष घरदैलो । हामी वचनमा पक्का छौँ । अन्त्यमा, मौन अवधि सुरु हुन लाग्यो । निर्वाचन अगाडिको यो अन्तिम पोस्टमार्फत हाम्रो अभियानलाई साथ र सहयोग दिने हरेक व्यक्ति, हरेक सञ्चारगृह, हरेक पत्रकार र हरेक समूहप्रति आभार व्यक्त गर्दछु ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: