शीर्ष नेताहरूले कहाँकहाँबाट मतदान गर्दैछन् ?


काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको अग्रिसाम मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित केन्द्रबाट मतदान गर्नेछन् । उनले महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका–७, धापासीस्थित स्काइलार्क स्कुल केन्द्रबाट मतदान गर्दै छन् ।

काँग्रेस नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि केन्द्रबाट मतदान गर्दै छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४, शिवनगरस्थित शान्तिपुर प्रहरी विद्यालय केन्द्रबाट मतदान गरिसकेका छन् ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ स्थित परोपकार माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरस्थित रामजानकी कन्या मन्दिर केन्द्रबाट मतदान गर्दै छन् ।

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल इलामको सूर्योदय नगरपालिका–९ रम्पोक केन्द्रबाट मतदान गर्दै छन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका–१४, डिग्री क्याम्पस केन्द्रबाट मतदान गर्दै छन् ।

जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्दै छन् ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले महोतरीको पिपरा नगरपालिकास्थित एकरैया केन्द्रबाट मतदान गर्दै छन् ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित केन्द्रबाट मतदान गर्दै छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले झापाको हल्दिबारी गाउँपालिका–१, गोल्धापबजारस्थित वडा कार्यालय केन्द्रबाट मतदान गर्दै छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ स्थित वंशगोपाल उच्च मावि केन्द्रबाट मतदान गर्दै छन् ।

प्रतिक्रिया
नागरिक मिरर