विभिन्न स्थानमा स्थगित भएको मतदान पुनः सुरु, कतै सर्वदलीय बैठक, कतै चुस्त सुरक्षा सतर्कता अपनाइँदै

काठमाडौं । देशका विभिन्न स्थानमा स्थगित भएको मतदान पुनः सुरु भएको छ । दोलखाको बैतेश्वरमा स्थगित भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज अधिकारीका अनुसार बिहान राजनीतिक दलका कार्यकर्ताहरूबीच झडपका कारण स्थगित भएको बैतेश्वरमा केहिबेर अघि मतदान सुरु भएको बताए ।

बारामा पनि स्थगित भएको मतदान प्रक्रिया पुनः सुचारु भएको छ । बाराको देवतालमा स्थगित भएको मतदान प्रक्रिया पुनः सुचारु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले देवतालमा मतदान प्रक्रिया सुरु भएको र पचरौतामा सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गराउने विषयमा छलफल भइरहेको बताए ।

रामेछापमा पनि झडप भएका स्थानमा स्थिति सामान्य भइसकेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक बहादुर पहाडीले रामेछापको सुनापति गाउँपालिका २ दिमी पोखरीमा अझै मतदान सुरु भएको बताए ।

बिहानबाट सुरु भएको मतदानमा विभिन्न स्थानमा झडप र तनाव भएपनि अहिले ती स्थानमा स्थिति नियन्त्रणमा आइसकेको र ल्याउने प्रयास भइरहेका छन् ।

यसैबीच, गृह मन्त्रालयले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बारा, रामेछाप लगायतका जिल्लाहरूमा थप सुरक्षाकर्मी पठाउने तयारी गरेको छ ।

यसैबीच, निर्वाचन आयोगले देशका विभिन्न स्थानमा झडपका कारण मतदान प्रभावित भएकाले संयमता अपनाउन आग्रह गरेको छ । राजनीतिक दलका कार्यकर्ताहरूबीच विवादका कारण देशभरका विभिन्न स्थानमा मतदान प्रभावित भएपछि आयोगले मतदातालाई मताधिकार प्रयोग गर्न दिन आग्रह गरेको हो ।

मत खसाल्न पाउने नागरिकको नैसर्गिक अधिकार रहेको हुँदा र लामो समयदेखि मतदान गर्नका लागि लाइनमा बसेकाहरूलाई समस्या हुन भएकाले झडपको वातावरण नबनाउन आयोगले आग्रह गरेको छ । यसैबीच, गृह मन्त्रालयले पनि मतदान केन्द्रहरूमा झडपको अवस्था उत्पन्न नगराउन आग्रह गरेको छ ।

सुरक्षाको व्यवस्था राम्रो बनाइएको भएपनि राजनीतिक दलका प्रतिनिधिहरूका कारण मतदाता मताधिकार प्रयोग गर्नबाट बञ्चित हुन सक्ने भएकाले त्यसो नगर्न आग्रह गरेको हो । साथै मन्त्रालयले मतदातालाई नडराइकन मतदान गर्न पनि अपिल गरेको छ ।

केही स्थानहरूमा मतदान प्रक्रिया प्रभावित भएको हुँदा मतदातामा त्रास उत्पन्न हुने र मतदानमा सहभागि नहुन सक्ने जोखिम बढेपछि मन्त्रालयले निर्धक्कसँग मतदानमा सहभागि हुन आग्रह गरेको हो ।

प्रतिक्रिया
नागरिक मिरर