ललितपुर महानगरपालिकामा भोलि बिहान ७ बजे सर्वदलीय बैठक, ८ बजे मतगणना

ललितपुरका विभिन्न स्थानबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउन अझै बाँकी रहेको छ । पालिका केन्द्रबाट टाढा पर्ने वडामा रहेका मतदानस्थानबाट मतपेटिका ल्याउन बाँकी रहेको हो ।

ललितपुर महानगरपालिकामा भोलि बिहान ७ बजे बैठक सुरु गरेर ८ बजे मात्रै मतगणना गर्ने निर्णय भएको छ । उम्मेदवार र कर्मचारी सबै थाकेकाले भोलि मतगणना सुरु गर्ने गरी छलफल भएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।

महानगरमा जम्मा ८६ हजार ५४० मत खसेको छ । महानगरमा जम्मा मतदाता एक लाख २२ हजार ८९० रहेका छन् ।

गोदावरी नगरपालिकामा मतपेटिका आउन अझै बाँकी रहेको छ । वडा नं ८ र ९ बाट मतपेटिका आउन बाँकी रहेको र त्यो आएपछि नै सर्वदलीय बैठक बसेर मतगणना आजै सुरु गर्ने वा भोलि गर्ने भनी टुङ्गो लाग्ने निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिइन् । नगरपालिकामा ५४ हजार ३९९ जना मतदाता रहेका छन् ।

महाङ्काल गाउँपालिकामा ९ हजार १२ मतदाता रहेकामा ७ हजार ६०० मत खसेको छ । यो ७७ दशमलव ९६ प्रतिशत हो । अझै दुई टाढा रहेका वडाबाट मतपेटिका आउन बाँकी छ । त्यहाँबाट आएपछि मात्रै मतगणना कहिले हुने भनी निर्णय हुने निर्वाचन अधिकृत सुशिला ज्ञवालीले जानकारी दिइन् ।

बागमती गाउँपालिकामा जम्मा मतदाता १२ हजार ३२८ मध्ये ९ हजार ६१७ ले मत हालेको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । यहाँ जम्मा ७८ दशमलव ०१ प्रतिशत खसेको छ । यहाँका १७ मध्ये पाँच मतदानस्थलमध्ये मात्रै मतपेटिका आइपुगेको छ । सबै मतपेटिका आइपुगेका मतगणना सुरु हुने उनले जानकारी दिए ।

कोञ्ज्योसोम गाउँपालिकामा ७५ दशमलव ५४ प्रतिशत मत खसेको छ । आज नै मतपेटिका आएपछि सर्वदलीय बैठक हुने निर्वाचन अधिकृत देवीकुमारी चौधरीले जानकारी दिइन् । मतगणना आज सुरु गर्ने तयारी रहेको उनले बताइन् । गाउँपालिकामा ८ हजार ५८८ मतदाता रहेका छन् ।

जिल्लामा कुल २ लाख ४३ हजार ८८४ मतदाता पुगेका छन् । पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक छन् ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: