सिरहाको दुई नगरमा एमाले विजयी
सिरहा । सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ ।
सिरहाको नगरप्रमुखमा डा नवीन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी भएको छ । डा यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले आठ हजार ७३२ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा साहले १० हजार १२६ मत ल्याएर निर्वाचित भएको छ भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका सरिता यादवले आठ हजार ५७७ मत प्राप्त गरेका छन् ।
त्यस्तै कर्जन्हा नगर प्रमुखमा एमालेकै भोलाप्रसाद पोखरेल तीन हजर ८३९ मतका साथ निर्वाचित भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले तीन हजर २२३ र नेकपा (माओवादी)का गङ्गा पासवानले दुई हजार ४८२ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीका लक्ष्मीकुमारी श्रेष्ठ तीन हजार ४८७ मत ल्याएर विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला कुमारीदेवी पासवानले तीन हजार ९५ मत तथा माओवादीका ज्ञानकुमारी श्रेष्ठले दुई हजार ४५६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कूल ११ वडा रहेको उक्त नगरको पाँच वडामा एमाले, तीनमा जसपा, माओवादी र नेकपा (एकीकृत समाजवादी)ले एक÷एक तथा एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।