बर्दिबास – ८ काे एउटा बाकसकाे मतगणना छुट्याे, अब के हुन्छ ?


महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न भएर परिणाम समेत घोषणा भई सकेको अवस्थामा एउटा मतपेटिकाको मतगणना गर्न नै छुटेको पाइएको छ ।

बर्दिबास नगरपालिकाको एउटा वडाको मात्र मतगणना बाँकी रहेर जारी मतगणनाबाट अन्तिम नतिजा सार्वजनिक गर्ने बेलामा मतपेटिका भेटिएको खबरले अहिले यहाँ चर्चा पाएको छ।

निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले बर्दिबासका १३ वटा वडाको गणना सकेर अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप मतपेटिका फेला परेको जानकारी दिइन् । बर्दिबास ८ अन्तर्गत बेलगाछी- ६ को २ वटा बाकस मध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्को बाकस अर्कै वडाको बाकस राखिएको ठाउँमा फेला परेको तामाङले बताइन् ।

मतदान अधिकृत, कर्मचारी र राजनीतिक दलले समेत मत गन्ने बेला सम्म सबै बाकसको खोजी नगरेकाले अन्य वडाका बाकससँग त्रुटिबस छुटेको तामाङले बताइन् ।

वडा नम्बर ८ को ९ वटा मतपेटिकामध्ये ८ वटाको मात्रै गणना गरेर मत परिणाम सार्वजनिक भएकाले अब सर्वदलीय बैठक बसी सहमति गरेर मतगणना गरिने बताइएको छ । छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम स्वीकार्य गराएर गणना सुरु गरिने निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवासको मत गणना वडा नम्बर ८ बाटै सुरु भएको थियो । उक्त वडाबाट निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेर सिंह लामा विजयी भएको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
नागरिक मिरर