बर्दिबासमा कांग्रेसबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका क्षेत्री र महतो विजयी

जनकपुरधाम । वर्दिवास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रहलाद क्षेत्रीले भारी मतान्तरले जित हासिल गरेको छ। क्षेत्रीले ५हजार ८ सय ८७ मतको फराकिलो मतान्तरमा विजयी भएका हुन् ।

बर्दिवास नगरपालिकाको सम्पन्न मतगणना अनुसार मेयर र उपमेयर दुवै पदमा स्वतन्त्र जेब्रा घोडा चिन्हका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा प्रह्लाद छेत्री(स्वतन्त्र)ले १४२१० मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादीका मेयरका उम्मेदवार राजु खड्काले ८३२३ मत मात्र प्राप्त गरे ।

त्यसैगरी उपमेयरमा तारादेवी महतो(स्वतन्त्र) उम्मेदवारले ९७३६ प्राप्त गरेकी छिन् भने माओवादीबाट कृष्णमाया गौतमले ८१८५ मत प्राप्त गरेकी छिन् । तारादेवीले १५५१ मतको अन्तरल विजयी भएकी हुन् ।

यसअघिको स्थानीय तहको चुनावमा समेत कांग्रेसबाट उम्मेदवारी दिएका क्षेत्री त्यतिबेला माओवादीको उम्मेदवार बिदुर कार्कीसँग थोरै मतले पराजित भएका थिए। यसपटक कांग्रेसले टिकट नदिएपछि उनी पार्टी छाडेर स्वतन्त्र उम्मेदवार भएका हुन्।

बर्दिबासमा कांग्रेसबाट मेयरको टिकट क्षेत्री र चिरञ्जीवी हमाल दुवैले पाएका थिए। तर, पछि हमाल आधिकारिक भए। हमाल चौथो स्थान प्राप्त गरेका छन्। आफूले पाएको टिकट खोसिएपछि क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवपारी दिएका थिए।

मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि क्षेत्रीलाई समर्थन गर्न कांग्रेसका बर्दिबास नगरसमितिका अधिकांशले पार्टी परित्यागको घोषणा गरेका थिए ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलको गृहनगर तथा क्षेत्र बर्दिबासमा यसअघि माओवादीले प्रमुख, उपप्रमुख र अधिकांश वडा जितेको थियो।

पछिल्ला तीन निर्वाचनमा पोखरेल बर्दिबास समेटिएको निर्वाचन क्षेत्रबाट लगातार जित हात पार्दै आएका छन् । तर, यस पटक स्थानीय चुनावमा भने बलियो संगठन र जनाधार भएको, विगतको प्रतिबद्धता पूरा गरेको दाबी गरिरहेको माओवादी केन्द्रलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार क्षेत्रीले सजिलै विजयी हासिल गरेका छन् । मतगणनाको सुरुवात देखि अग्रता लिएका क्षेत्रीले अन्त सम्म लगातार अग्रस्थान मै रहेर निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
नागरिक मिरर