जलेश्वरको मेयर र उपमेयरमा जसपा विजयी

महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार आज अबेर साँझ सम्पन्न अन्तिम मतगणना परिणामअनुसार जलेश्वरको प्रमुखमा जसपा नेपालका सुरेश साह सोनारले सात हजार ३०४ मत ल्याएर विजय प्राप्त गरेको छ । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले पाँच हजार ४३० मत ल्याएको हो ।

त्यसैगरी जलेश्वरको उपमेयरमा पनि जसपा नेपालकै रौशन खातुनले पाँच हजार ८२१ मत ल्याएर विजय प्राप्त गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की मुनचुन देवीले चार हजार ८९३ मत प्राप्त गरेको हो ।

सम्पन्न निर्वाचनमा जलेश्वरका १२ वडामध्ये जसपा नेपालले मेयर,उपमेयरसहित पाँच वडामा विजयी प्राप्त गरेको छ भने एमालेले छ वडा जितेको छ । त्यस्तै एउटा वडामा नेकपा (एकीकृत समाजवादी) ले जित हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
नागरिक मिरर