काठमाडौंमा पनि मनाइयो मिथिलानी वटसावित्री पर्व

काठमाडौं । विवाहित हिन्दू मैथिल नारीले आज वरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । यसै क्रममा कर्ण कायस्थ महिला समाजले काठमाडौंमा पनि वरसाइत पर्व मनाएको छ ।

समाजले प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको वरको रुखमा पुजा गर्दै वटसावित्री पर्व मनाएको हो । समाजकी उपाध्यक्ष पुनम दासले पछिल्लो समय घर घरमा पुजा गरेर मनाइने यो पर्व सामुहिक रुपमा मनाउदा खुशी लागेको बताइन् ।

जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मिथिलानी (मिथिलाका नारी)ले यस पर्व मनाउने गर्दछन् । छोड्दो औँसीका दिन मनाइने यस पर्व भोलिपल्ट जेठ शुक्ल प्रतिपदा तिथि टेकेपछि समापन गरिन्छ ।

अघि सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा पर्व मनाउने मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा बर्तालु मिथिलानीले सामूहिकरुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजाआराधना गरेर यस पर्व मनाउँछन् । बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।

सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ) आफ्ना पति सत्यवानलाई तपोवलले जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ ।

नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यस व्रत परम्परा छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरको छ ।

मिथिलामा केही वर्ष पहिलेसम्म्म ब्राह्मण, कायस्थ र सोनार जातिका विवाहित सधवा महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका देखिँदो छ । आजै हिन्दू वैदिक परम्परा मान्नेहरुले सोमबारे औँसी पर्व पनि मनाएका छन् । हिन्दू परम्परामा औँसी तिथि सोमबार पर्दा धार्मिक÷पौराणिक महत्वका नदी, तलाउ तथा सरोवरमा एकाबिहानै पवित्र स्नान गर्ने चलन छ । सोमबार औँसी परेको दिन बिहान नबोली तीर्थस्नान गर्नाले जीवनमा जानअन्जानमा भएका पाप पखालिएर मन पवित्र हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया