पाकिस्तानमा अर्थतन्त्र जोगाउनका लागि चिया कम पिउन सरकारको आग्रह

काठमाडौं । देशको अर्थतन्त्र जोगाउन पाकिस्तान सरकारले त्यहाँका मानिसहरुलाई चिया कम पिउन आग्रह गरेको छ ।

वरिष्ठ मन्त्री एहसान इकबालले थोरै कप चिया पिउँदामात्रै पनि आयात बिल घटाउने बताएको बीबीसीले जनाएको छ । अहिले पाकिस्तानमा भएको विदेशी सञ्चिति मुद्रा सम्पूर्ण सामानको आयात गर्नुपर्दा दुई महिना पनि नपुग्ने अवस्था छ ।

पाकिस्तान विश्वको सबैभन्दा ठूलो चिया आयातकर्ता हो । जसले गतवर्ष मात्रै ६ सय मिलियन डलर बराबरको चिया आयात गरेको थियो । “म देशबासीलाई चियाको खपत एक वा दुई कपले कम पिउन अपिल गर्छु । किनकि हामी चिया ऋण लिएर आयात गरिराखेका छौँ,” पाकिस्तानी सञ्चार माध्यमअनुसार मन्त्री इकबालले भने ।

व्यवसायीले पनि विद्युत् बचत गर्न साढे ८ बजे नै पसल बन्द गर्न सक्ने उनले सुझाव दिएका छन् ।

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति द्रुत गतिमा घट्दै गएको बेलामा उच्च आयात लागत घटाउन र देशमा मुद्रा बचाइ राख्न कदम चाल्न चौतर्फी दबाब आएपछि सरकारबाट यो अनुरोध आएको हो ।

चिया पिउन कम गर्नको लागि गरिएको अनुरोध पाकिस्तानको सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरैले चिया कफीजस्ता पेय पदार्थको आयात घटाएर देशको गम्भीर आर्थिक समस्यालाई सम्बोधन गर्न सकिन्छ भन्ने शंका व्यक्त गरेका छन् ।
बीबीसी

प्रतिक्रिया