श्रीलंका संकट: राष्ट्रपति र प्रधानमन्त्री राजीनामा दिन तयार

ऐजेन्सी । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चारमाध्यम डेली मिररले जनाएको छ ।

आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महँगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देश गम्भीर आर्थिक संकटमा छ । बिरामी परे बजारमा औषधि छैन । बजारमा खाद्यान्नको अभाव छ । खाना पकाउन ग्याँस छैन । यात्रा गर्न डिजेल तथा पेट्रोलको अभावमा गाडी चलेका छैनन् ।

मूल्यवृद्धिले आकाश छोएर दौडिरहेको छ । खाद्यान्न अभाव भएपछि बालबालिका कूपोषित हुन थालेका छन् । वृद्धहरू भोका हुन थालेका छन् ।

शनिबार बढ्दो महँगीका साथै खाद्यान्न, इन्धन र औषधि अभावको विरोधमा र्‍याली आह्वान गरिएको थियो । प्रदर्शनलाई विपक्षी दल, ट्रेड युनियन, विद्यार्थी, किसान संगठन लगायतले समर्थन गरे ।

सरकारले भने प्रदर्शन रोक्ने उद्देश्यले शुक्रबार राति ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू घोषणा गर्दै नागरिकलाई घरमै बस्न भन्यो । सडकमा सेना र प्रहरी तैनाथ गरिएको थियो ।

कर्फ्यूकाबीच आक्रोशित जनताको भिड कोलोम्बोस्थित राष्ट्रपति गोताबाया राजापाक्षेको निवाससम्म पुग्यो ।प्रदर्शनकारीहरूलाई रोक्न प्रहरीले सयौँ राउन्ड हवाइ फायर गर्‍यो, अश्रुग्याँस हान्यो । तर, भिड रोकिएन । उनीहरूले राजापाक्षेलाई भगाए र उनको निवास कब्जामा लिए ।

उनको निवासभित्रैबाट उनीविरुद्ध चर्का नारा लगाए । राष्ट्रिय झण्डा बोकेका उनीहरूले नाराबाट भने– ‘गोता घर जाऊ !’

उनीहरूले राजापाक्षले सरकारबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । राजापाक्षको परिवार र उनीहरूले नेतृत्वले गरेको सरकारका कारण अहिलेको अवस्था आएको नागरिकको बुझाइ छ । विश्लेषकहरूले पनि सरकारमाथि प्रश्न उठाइरहेका छन् ।

त्यस्तै प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू राजीनामा दिन तयार रहेको बताएका छन् । शनिबार बेलुकी आकस्मिक बैठक बोलाएर उनले जनताको सुरक्षाका लागि आफू राजीनामा दिन तयार रहेको बताएका छन् ।

राष्ट्रपति गोताबाया राजापाक्ष जुलाई १३ मा राजीनामा दिन सहमत भएका छन् । प्रदर्शनकारीले घर कब्जामा लिएपछि गएराति राष्ट्रपति राजापाक्षले राजीनामा दिने बताएको सभामुख महिन्दा यापा अभयवर्धनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीको सहयोगमा ।

प्रतिक्रिया