भारतीय जीपको ठक्करबाट ढल्केवरमा मोटरसाईकल चालकको मृत्यु

जनकपुरधाम । धनुषाको ढल्केवरमा भारतीय जीपको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु भएको छ ।

गएराति ढल्केवर जनकपुर सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका ६ मा भएको दुर्घटनामा मिथिला नगरपालिका–६ ढल्केवरका ४५ वर्षिय कपडा व्यवसायी शिवलाल यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बिआर ०१ एआर ९७७० नम्बरको उक्त भारतीय नम्बरको जीपले सोही दिशाबाट आइरहेको ज ९ प ९४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

गतिमा आइरहेको भारतीय नम्बरको जीपका चालक बसही पुल नजिक आएर सन्तुलन गुमाएपछि जीप पल्टिएर यादव सवार मोटरसाइकलमाथि बजारिन पुगेको प्रहरीका जनाएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा परी गम्भीर घाइते मोटरसाईकल चालक यादवको उपचारको क्रममा शनिबार राति करिब १२ बजे प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने जीप र चालक प्रहरीको नियन्त्रणमा छ । नियन्त्रणमा रहेको चालक बिहार मधुबनी जिल्ला धजवा बस्ने ३६ वर्षिय मन्जयकुमार साह रहेको छ ।

प्रतिक्रिया
नागरिक मिरर