भारतमा विपक्षीद्धारा उपराष्ट्रपतिका लागि खिचातानी : मार्गरेट अल्भाकाे उम्मेदवारी दर्ता

नयाँ दिल्ली। भारतमा विपक्षी दलहरूको तर्फबाट उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले मार्गरेट अल्भाको उम्मेदवारी दर्ता भएको पुष्टि गरेको छ ।

उहाँलाई विपक्षी दलहरूको समर्थन रहेको जनाइएको छ । उहाँले उम्मेदवारी दर्ता गर्ने बेलामा कांग्रेसका पूर्व अध्यक्ष तथा सांसद राहुल गान्धी, नेता माल्लिकार्जुन खड्गे, एनपीसी प्रमुख शरद पावर लगायतका विपक्षी दलका नेताहरूको उपस्थिति रहेको थियो ।

राजस्थानका पूर्व गभर्नर तथा पूर्व केन्द्रीय मन्त्री अल्भालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय विपक्षी दलहरूले आइतबार गरेका हुन् । विपक्षी दलहरूले आफूहरूको साझा उम्मेदवारको रुपमा उहाँलाई अगाडि सारिएको बताएका छन् ।

अल्भालाई उम्मेदवार बनाउने बारेमा विपक्षी पार्टीहरूका बीचमा कुनै विवाद नभएको र उहाँ सर्वसम्मत उम्मेदवार हुनु भएको नेता पावरले जानकारी दिनुभयो । उपराष्ट्रपतिका लागि विपक्षीहरूको साझा उम्मेदवार छनौट गर्न उहाँकै निवासमा विपक्षी दलका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

आगामी अगस्ट ६ मा हुने उपराष्ट्रपति चयनको निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ताको अन्तिम दिन तोकिएको थियो । वर्तमान उप राष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: