२६ वर्षिय युवा नेता यादव भन्छन्,-‘प्रदेश सभामा युवाको सहभागिताले विकासले गति लिन्छ’

जनकपुरधाम । निर्वाचन आयोगले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेपनि सरकारले अहिलेसम्म निर्वाचनको मिति तोकेको छैन् । सरकारबाट निर्वाचनको मिति तय नहुँदा चुनाव लड्न सोच बनाएकाहरू धमाधमउम्मेदवारी घोषणा गर्न थालेका छन् ।

कसैले पार्टीबाट टिकट पाउने आशमा उम्मेदवारी घोषणा गरेका छन् भने कसैले स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन् ।

धनुषा निर्वाचन क्षेत्र २, ‘ख’ बाट अगामी निर्वाचनमा २६ वर्षीय युवा नेता विजय यादवले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले माओवादी केन्द्रबाट उम्मेदवारी दिने बताएका छन् ।

‘मेरो उम्मेदवारीको विषयमा पार्टी अध्यक्ष प्रचण्डसँग कुरा भइसकेको छ, उहाँ पनि सकारात्क हुनुहुन्छ । केन्द्रमा पाँच दलीय गठबन्धनको सरकार छ, यादवले भने,‘ अगामी निर्वाचनसम्म यो गठबन्धन कायमै रह्यो भने पाँच दलीय गठबन्धनको साझा उम्मेदवार मै हुन्छु ।’

निर्वाचनमा युवाको भूमिका मत दिनेमा मात्रै सिमित भयो भने जनताले चाहे जस्तो मुलुकमा परिवर्तन नहुने भन्दै उनले आउँदो निर्वाचामा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

‘पार्टीले युवालाई भोट बैंक बनाएर मात्रै राख्नु भएन मौका दिनुपर्छ, पार्टीले उम्मेदवार बनाएपछि जनताले मलाई आफ्नो मत दिएर प्रदेश सभामा पठाउनेछ भन्ने पूर्णः विश्वास छ । उनले भने,‘ म यस निर्वाचन क्षेत्रमा पर्ने टोलटोलमा पुगेको छु, आफ्नो उम्मेदवारीको विषयमा मतदातासँग कुरा गरेको छु, उहाँहरूले विश्वास दिलाएपछि मात्रै मैले उम्मेदवारी घोषणा गरेको हुँ ।’

पार्टीले टिकट दिएन भने प्रश्नमा उनले भने,‘ मैले ग्राउन्डमा तयारी गरेपछि मात्रै पार्टीका शीर्ष नेताहरूसँग टिकटको लागि कुरा गरेको छु, मलाई थाहा छ जनतामा पकड नभएपछि पार्टीले दिएको टिकटको पनि काम लाग्दैन् । मलाई जनताले दिलाएको विश्वासकै अधारमा टिकट मागेको छु, तर पार्टी अध्यक्षले हामीसँग गरेको प्रतिबद्धता कायम रहेन भने स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी कायमै राख्छौं । जनताले मलाई उम्मेदवार मात्रै बनेर आउन भनेको छ । चाहे त्यो पार्टीको तर्फबाट होस् या स्वतन्त्र मतदाताले मत दिन तयार छन् ।’

‘९० प्रतिशत जनता कृषिमा निर्भर छन् । तर, प्रदेश सरकारले कृषकको लागि के गरेछ ? यहाँबाट जितेका सांसदले के गर्यो ५ सालमा ? प्रदेश सांसदको काम भनेको मठमन्दिर निर्माण गर्ने मात्रै हो । टुक्राटुक योजना बनाएर कार्यकर्ता पोस्ने बाहेक के गरे छ ? मधेश प्रदेशका जनता कृषि आश्रित छ तर कृषकले मलखाद पाएका छैनन् । एउटा किसान जहिले पनि ऋणको भारीले च्यापिएको हुन्छ । कृषि, स्वास्थ्य, शिक्षा निःशुल्क नभएसम्म जनताको हित हुँदैन्, यादवले भने ‘आफू निर्वाचित भएपछि यसलाई प्राथमिकता राखेर काम गर्छु ।’

दस वर्षे जनयुद्धको बेला तराई क्षेत्रमा कमाण्डरको भूमिका निर्वाह गरेका उनी हाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जोगकुमार बरबरिया यादव(श्रवण बरबरिया) को छोरा हुन् ।

उनको परिवारिक पृष्ठभूमी राजनितिक भएका र जनतासँग नजिक भएकाले उनलाई चुनाव जित्न त्यति कठिनाइ नहुने उनी निकट कार्यकर्ताको बुझाइ छ ।

यस क्षेत्रबाट ०७४ सालको प्रदेश सभा सदस्यमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका रामअशीष यादव निर्वाचित भएका थिए ।

उनले १७ हजार १३२ मत ल्याएका थिए भने उनका निकटम प्रतिद्वन्द्वि माओवादी केन्द्र र एमालेका साझा उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार ४८९ मत ल्याएका थिए ।

प्रतिक्रिया
नागरिक मिरर