उद्यमीले निर्यात बढाउन ध्यान केन्द्रित गर्नुपर्छ : मन्त्री बडू

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको व्यापार घाटा कम गर्न उद्यमीले औद्योगिक उत्पादनको निर्यात बढाउन लाग्नुपर्ने बताए ।

मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उहाँले वर्तमान सरकार आयात प्रतिस्थापन गर्नका लागि निजी क्षेत्रका उद्यमीले स्थापना गर्ने निर्यातजन्य उद्योग स्थापनामा आवश्यक सहयोग गर्न तत्पर रहेकाले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।मन्त्री बडूले सरकारले यस वर्षको बजेटमा निर्यात गर्ने उद्योगलाई नगद अनुदान र विद्युत् महशुलमा छुट दिएको स्मरण गराउँदै उद्योग स्थापनामा सहजता पु¥याउनका लागि एकबिन्दु सेवा अवधारणा ल्याएको जानकारी दिए ।

उहाँले ऐतिहासिक, राजनीतिक जागरणका रुपमा रहेको विराटनगर जुटमिल सञ्चालनका सम्बन्धमा आवश्यक मोडालिटीको अन्तिम तयारीमा रहेको बताए । मन्त्री बडूले सरकार उद्योगीको समस्याप्रति गम्भीर रहेको भन्दै घ्यू, तेल, वायरसम्बन्धी उद्यमीका समस्या समाधान गर्ने विश्वास दिलाए ।उहाँले सुनसरीमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन भएको जनाउँदै निर्माण हुने औद्योगिक क्षेत्र निर्माणले मुलुकको आर्थिक समृद्धि कायम हुनुका साथै यस क्षेत्रमा रोजगारी वृद्धि भई आर्थिक चलायमान हुने धारणा राखे ।

मन्त्री बडूले विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि बजेटको व्यवस्था हुने र यसले मुलुकको व्यापार प्रवद्र्धनमा ठूलो टेवा दिने बताए । उहाँले भारतको बथनाहाबाट मोरङको कटहरीसम्म १८ किलोमिटर कार्गो रेल सञ्चालनका लागि मुआब्जासम्बन्धी विवाद अविलम्ब समाधान गर्न जिम्मेवार निकायको ध्यानाकर्षण गराउने विश्वास दिलाउँदै रेल सञ्चालनबाट उद्यमीको ढुवानी भाडा बचत हुनाका साथै यस क्षेत्रको आद्यौगीकरणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कार्गो रेल्वे सञ्चालन, औद्योगिक ग्राम निर्माण र औद्योगिक प्रदर्शनीस्थल निर्माणका सम्बन्धमा ध्यानाकर्षण गराए। सङ्घका अध्यक्ष नवीन रिजाल, उपाध्यक्ष विकास बागवानी, पूर्वअध्यक्षहरु ताराचन्द खेतान, पवन शारडा, जिगदिशप्रसाद अग्रवाल, अनिल साह र अमित राठीले तस्करी नियन्त्रण गर्नुपर्ने, वायर उद्योगको कर समस्या समाधान हुनुपर्ने, गहुँ आयात, घ्यूतेल उद्योगका समस्या सम्बन्धमा ध्यानाकर्षण गराए ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: