खेलकुदको विकास गर्न पछि हट्दिन् : मेयर यादव

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले नगरमा खेलकुदको विकास गर्न पछि नहट्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार छाँया केदार ब्याडमिन्टन खेलकुद क्लबको दोश्रो साधारण सभालाई सभालाई सम्बोधन गर्दै उनले खेलकुदले मानिसलाई सधै जवान बनाइ राख्न मद्दत गर्ने बताए ।
मेयर यादवले खेलकुदलाई शिलाजितको संज्ञा दिँदै भने, ’जसरी मानिसलाई शिलाजितको सेवनले सधैं उर्जा प्रदान गर्ने गर्छ त्यसैगरी नियमित खेलकुदले मानिसलाई स्वस्थ बनाइ चाडै बुढो हुनबाट बचाउछ ।’
नगर प्रमुख यादवले नगरपालिकाबाट कभर्ड हल निर्माणको लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा सहभागी भएका नेपाली कांग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पजियार क्लबको निर्माण गर्न लागेको कभर्ड हल आफू मेयर भएको बेला नै उद्घाटन गरिएको बताउँदै उनले निर्माणको लागि चाहिने अपुग रकम लगायतका सहयोग जुटाउन आफू प्रतिबद्ध रहेको जनाए ।
उनले यस जिल्ला कै नमुना कभर्ड हलको रुपमा निर्माण भइरहेको यसलाई पूर्णता दिन विभिन्न निकाय तथा स्थानीय र प्रदेश सरकारबाट समेत श्रोत जुटाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए ।
सभापति पजियारले कभर्ड हल निर्माण गर्न जग्गा उपलब्ध गराएको जग्गादाता शम्भु घिमिरेलाई धन्यवाद दिँदै समाजको लागि गरेको यस योगदानलाई नगरबासीले सधै सम्झिरह्ने बताए ।
धन भएर पनि मन हुने बहुत कम भेटिने यस समाजमा दानबीर शम्भु घिमिरे एक उदाहरण बनेका छन् । क्षीरेश्वरनाथ नगरपालिका वडा नं ७ निवासी शम्भु घिमिरेले कभर्ड हल निर्माण गर्नको लागि आफ्ना आमाबुवाको नाममा लाखौं रुपैयाँ पर्ने जग्गा दान गरेर यस नगरको इतिहासमा उदाहरणीय काम गरेका छन् ।
जग्गादाता घिमिरेले भने, ’मरि लानु के छ र, वुवाआमाले हाम्राका लागि थुप्रै अर्जि दिनु भएको छ, म उहाँहरुको कान्छो छोरो उहाँहरुको नाममा ’छाँयाकेदार ब्याडमिन्टन खेलकुद क्लब’ को स्थापना गरेर इतिहासको पानामा सदैव वर्णित होस् भन्ने उद्देश्यले १ कट्ठा ५ धुर जग्गा उपलब्ध गराएको हुँ।’
त्यसैगरी दानबिर घिमिरेले आज नै आफ्नो परिवार (श्रीमान–श्रीमति) को नाममा जेष्ठ नागरीक मिलन केन्द्र स्थापना गर्नको लागि समेत कभर्ड हल वरिपरि नै आवश्यक्ता अनुसारको जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले यस समाजका बृद्ध आमाबुवालाई उचित देखरेख तथा संरक्षणको लागि यस क्लवकै नेतृत्वमा यस जेष्ठ नागरीक मिलन केन्द्रको पनि लागि भवन निर्माण गर्ने साथीहरुको सल्लाह भएपछि आफूले पुनः त्यस पवित्र कार्यको लागि आवश्यक्ता अनुसारको पुग्ने जति जग्गादान गर्ने बचन दिएको बताए ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ कुचाई टोलमा निर्माणाधिन अवस्थामा रहेको कभर्ड हलको प्राङ्गनमा आयोजित साधारण सभा क्लबका अध्यक्ष विरेन्द्र प्रसाद जयसवालको अध्यक्षता र क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीत्यतामा सम्पन्न भएको थियो ।
क्लबका सदस्य भरत यादवको स्वागतमन्तव्यबाट सुरु भएको सभामा क्लबको प्रगति प्रतिवेदन समेत यादवले नै प्रस्तुत गरेका थिए ।
कुल एक करोड ३८ लाखको लागत निर्माण गरिन लागे अत्याधुनिक कभर्ड हलको लगभग ६० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । जसमा मधेस प्रदेश सरकारको महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्रालयले दुई किस्ता गरेर ७५ लाख रुपैयाँ सहयोग गरेका छन् भने अन्यदाता तथा क्लवका आजिवन सदस्यता वापतको शुल्कबाट संकलन भएको ६ लाख गरि करिब ८१ लाख रुपैयाँको खर्च भइसकेको क्लवका सदस्य भरत यादवले जनाए । उनले प्रदेश र स्थानीय सरकारको सहयोगमा यहि असोज मसान्त सम्म निर्माण सम्पन्न गर्ने तयारी रहेको जानकारी दिए ।
कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष मुवारक कवाडी, वडा ९ का अवध किशोर यादव, समाजसेवी ईश्वरी अधिकारी, क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, उपाध्यक्ष विनय साह, महासचिव दिपक साह, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडेमिका संस्थापक प्रिन्सिपल जगदिस प्रसाद सिंह, गंगोत्री बोडिङ्ग स्कुलका संस्थापक प्रिन्सिपल गणेश साह, नेकपा एमालेका नेता राजु गुप्ता , श्रीकृष्ण यादव लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथीहरुलाई सम्मान र खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गर्दै दोस्रो कार्यकालको लागि पुरानै कार्यसमितिलाई निरन्तरता दिएको क्लबका कोषाअध्यक्ष बैकुण्ठ प्रसाद काफलेले जानकारी दिए ।






