नागरिकता विधेयकमाथिको छलफल अर्काे बैठकमा पनि जारी

काठमाडौं । राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रियसभाको अर्को बैठकमा पनि जारी रहने भएको छ ।
आजको बैठकमा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदको बोल्नेक्रम नसकिएकाले राष्ट्रियसभाको अर्को बैठकमा पनि छलफल जारी रहने जानकारी दिए । अर्को बैठक भदौ १७ गते शुक्रबार अपराह्न २ः ५९ बजे बस्नेगरी आजका लागि स्थगित भएको छ ।
उक्त विधेयकमाथिको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षी दलले नागरिकता विधेयकका सन्दर्भमा राजनीति गरेको आरोप लगाए । अघिल्लो सरकारले अध्यादेश ल्याउँदा वैवाहिक अङ्गीकृत नागरिकताको विषय किन ल्याइएन भनी उनले गरे । उनले त्यसको जवाफ दिन पनि माग गरेको छ । सांसद देवले अहिलेको विधेयक संविधानसम्मत रहेको पनि स्पष्ट पारे ।
‘राष्ट्रहितलाई केन्द्रमा राखौँ’
राष्ट्रिय हितलाई केन्द्रमा राखेर मात्रै नागरिकताको विषयलाई अगाडि बढाउनुपर्ने सांसदहरूले बताएको छ । राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ बारेमा आफ्नो धारणा राख्दै उनीहरुले नागरिकता नपाएका नागरिकले नागरिकता पाउनुपर्ने धारणा राखे छलफलमा भाग लिँदै सांसद देवेन्द्र दाहालले सहमतिका आधारमा नागरिकता विधेयक पारित गरिनुपर्ने उल्लेख गरे ।
सांसद राधादेवी भट्टले नागरिकताको विषयमा राष्ट्रपतिले गरेको पुनः विचारसम्बन्धी धारणाको विरोध गर्नुको कुनै औचित्य नभएको बताए । विधेयकमा रहेका केही विषयमा प्रश्न उठेको उनको भनाइ थियो । सांसद विमला राई पौडेलले विधायन समितिमा प्रक्रिया पु¥याउनका लागि मात्रै विधेयकका सन्दर्भमा छलफल गराइएको जस्तो आफूले पाएको उनको भनाइ थियो ।
सांसद इन्दु कडरियाले नागरिताको जस्तो संवेदनशील विषयलाई हल्का ढङ्गले लिन नहुने धारणा राखे । नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । सांसद विमला घिमिरेले राष्ट्रियहित, चासो र चिन्तालाई सम्बोधन गर्दै नागरिकता विधेयकलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिए । सांसद मोहम्मद खालिदले राष्ट्रियताको सन्दर्भमा प्रस्तुत नागरिकता विधेयकले कुनै पनि हानिनोक्सानी नगर्ने र विरोध गर्नुको औचित्य नभएको बताए ।
सांसद गोपाल भट्टराई र तुलसाकुमारी दाहालले विधेयक ल्याउने सवालमा समेत प्रक्रिया नपु¥याइएको बताए । सांसद इन्दिरादेवी गौतमले नागरिकताविहीनलाई नागरिकता दिने विषयमा समस्या नभएपनि यसलाई हलुका बनाउन नहुने बताए ।






