गहुँ र चिनीपछि भारत सरकारले चामल निर्यातमा लगायो २० प्रतिशत कर

काठमाडौं । भारत सरकारले आजदेखि लागू हुनेगरी चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ ।
यसअघि, चिनी र गहुँको निर्यातमा प्रतिबन्ध लगाएको भारत सरकारले आन्तरिक खाद्य सुरक्षालाई ध्यानमा राखेर चामल निर्यातमा पनि कर लगाएको छ ।
भारत सरकारको यो निर्णयले नेपाली भान्सा महँगीने चिन्ता बढाएको छ । विश्वकै दोस्रो सबैभन्दा धेरै चामल निर्यात गर्ने मुलुक भारतको यो निर्णयले नेपालसहित अन्य मुलुकलाई पनि समस्या हुने देखिएको छ ।
भारतबाट बर्सेनि ५ देखि ९ लाख मेट्रिक टन चामल नेपालले आयात गर्दै आएको छ ।
नेपालमा वार्षिक करिब ३२ लाख मेट्रिक टन चामलको माग रहेको छ । तर, आन्तरिक उत्पादन पर्याप्त नहुँदा ५ देखि ६ लाख मेट्रिक टन चामल अपुग हुँदै आएको छ । जसको परिपुर्तिका लागि भारतबाट मात्रै बार्षिक ५ अर्ब भन्दा बढिको चामल आयात हुने गरेको छ ।
नेपालले गत आर्थिक वर्षमा मात्रै भारतबाट ५ अर्ब ७ करोड ३५ लाख ३४ हजार रूपैयाँ बराबरको ६७ हजार ८ सय ४ मेट्रिक टन चामल आयात गरेको थियो । चालु आर्थिक बर्षको साउनमा मात्रै भारतबाट नेपालले २७ करोड ९४ लाख १७ हजार रुपैँया बराबरको ३ हजार ६ सय ३७ मेट्रिक टन चामल आयात गरेको छ । यसमा २० प्रतिशत कर जोडिनासाथ नेपालमा चामलको मुल्य बढ्ने छ ।
नेपालमा भारतसँगै चीन, जापान, कोरिया, थाइलाण्ड, इन्डोनेसिया, भुटान, भियतनाम र इटाली लगायत १० देशहरूबाट चामल आयात हुने गरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्ला वर्ष धान, चामल, कनिका लगायतको आयात निरन्तर बढिरहेको छ । पाँच वर्षअघि करिब ५ लाख ४० हजार मेट्रिकटन चामल आयात भएकोमा गत वर्ष ८ लाख ९० हजार मेट्रिकटन पुगेको छ ।






