‘सन्तोषजनक सिट बाँडफाड नभए गठबन्धनमा बस्दैनौँ’ : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सन्तोषजनक सिट बाँडफाड नभए सत्तारुढ गठबन्धनमा बस्ने नसक्ने संकेत गरेका छन् । पिछडा वर्ग महासंघको तेस्रो राष्ट्रिय सम्मेलनको शनिबार जनकपुरधामा उद्घाटन गर्दै अध्यक्ष यादवले लोकतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य भएपनि आसन्न निर्वाचनमा मधेसी, दलित आदिवासी जनजाति तथा समाजमा पछाडि परेका वर्गको प्रतिनिधित्वमा ह्रास आउने गरी आत्मघाति कदम पार्टीले गठबन्धनको नाउँमा चाल्न नसक्ने बताए ।
संघीयता र गणतन्त्र संकटमा रहेको वेला जसपाकै पहलामा पाँचदलीय गठबन्धन बनेको दावी गर्दै अध्यक्ष यादवले भने, ‘संघियता र गणतन्त्रको रक्षाका लागि ऐतिहासिक भूमिका निर्वाह गरेका पार्टीलाई सम्मानजनक सिटको बाँडफाँट हुनुपर्छ ।’
मधेसको शक्तिलाई कमजोर आंकलन नगर्न चेतावनी दिँदै अध्यक्ष यादवले मधेसका शक्तिलाई सम्मानजन स्थान दिएर गठबन्धनलाई बलियो बनाउनुको विकल्प नरहेको बताए ।
समाजिक विकृतिको रुपमा रहेको पिछडा वर्गमाथिको अन्याय अन्तका लागि संवैधानिक रुपमै पहल गर्नुपर्ने उल्लेख गर्दै यादवले भने, ‘दलित र पिछडा वर्गको उन्नति प्रगति विना देश सम्वृद्ध हुन सक्दैनन् ।’
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समाजको ठूलो हिस्सा रहेको पिछडा वर्गको उत्थानका लागि प्रदेश सरकार तत्पर रहेको बताउँदै उनीहरुको सामाजिक उत्थानका लागि आफ्नो सरकारले बजेट विनियोजन गरेको बताए ।
पिछडा वर्ग महासंघका अध्यक्ष भरत महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य राम अशिष यादव, जसपा नेता बलराम महतो लगायतले सम्बोधन गरेका थिए ।






