निधिको राजनीतिक पकड बलियो, तर मधेशमा कमजोर किन ?

विमलेन्द्र निधि अर्थात् पूर्व मन्त्री एवं नेपाली काँग्रेसका पूर्व महामन्त्री स्वर्गीय महेन्द्र नारायण निधिको कान्छो छोरा । महेन्द्र नारायण निधि नेपाली काँग्रेसको संस्थापन पक्ष मध्येका एक हुन् । गान्धीवादी नेताको रुपमा चिनिने महेन्द्र नारायण निधि काँग्रेसका पूर्व महामन्त्री पनि थिए । उनले विभिन्न मन्त्रीको रुपमा पनि काम गर्ने मौका पाए । उनकै छोरा विमलेन्द्र निधि नेपाली काँग्रेसको उपसभापति बने, सभापतिका लागि उम्मेदवारी दिए । पराजित भएपनि सभापतिमा उठ्नु नै ठूलो साहसको कुरा भएको कतिपयको बुझाइ छ । कारण, मधेशी मुलका मान्छे मुलुककै सबैभन्दा ठूलो पार्टीको सभापतिमा उठ्नु गर्वको कुरा थियो ।
२०७३ मा एमाले–माओवादी गठबन्धन तोडेर माओवादी–काँग्रेस सहकार्य सम्भव पार्ने नेता निधि नै थिए । उनको यो भूमिकाले नै उनलाई गेम चेञ्जरको रुपमा स्थापित गरायो । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढाल्न सत्तारुढ गठबन्धनकै प्रमुख घटक माओवादीसँग मिलेर गरेको सहकार्य २३ वैशाखमा असफल भएपछि काँग्रेसका नेताहरूले माओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि ‘धोकेबाज’ र ‘विश्वासघाती’ भएको सार्वजनिक आरोप लगाए । तर, त्यसको दुई महिनामै काँग्रेस–माओवादी निकटता मात्रै बढेन मात्र, २८ असारमा माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नै ग¥यो । अर्को दिन काँग्रेस–माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वास प्रस्ताव नै दर्ता गरे ।
चरम अविश्वासनको तहमा काँग्रेस–माओवादी सम्बन्धलाई अविश्वसनीय रूपमै सहकार्यमा लगेर नयाँ सत्ता गठबन्धन बनाउने प्रमुख खेलाडी थिए–विमलेन्द्र निधि, त्यतिबेला उनी केन्द्रीय सदस्य मात्रै थिए । काँग्रेस–माओवादी गठबन्धन सरकारमा पार्टीको नेतृत्व गरेर उपप्रधानमन्त्री बनेपछि काँग्रेसमा निधिको जबर्जस्त प्रभाव देखिन थाल्यो । र, काँग्रेसभित्रका धेरै नेताहरूले रिस गर्न थाले । उनलाई रिस गर्नुको कारण के पनि थियो भने, एक त उनी मधेशी मुलका र अर्को भनेको उनले काँग्रेसमा राम्रो पडक बनाउनु । मन्त्रिपरिषद् विस्तारको क्रममा काँग्रेसभित्र देखापरेको असन्तुष्टिलाई जोडेर हेर्न थालियो । तर, निधिको प्रभाव यसरी प्रकट हुन थाल्यो की उनलाई उपसभापति मनोनित गरियो । काँग्रेसभित्र गिरिजाप्रसाद कोइरालाको विरोधमा देउवा उभिन थाल्दा कोइराला पक्षधरहरू भन्थेः ‘त्यो समूहको नेता शेरबहादुर होइन, विमलेन्द्र हो ।’
कुटिलतालाई पनि शालिन रूपमा राख्न र राजनीतिक तर्कमा माहिर विमलेन्द्रलाई यही खूबीले काँग्रेसभित्र राम्रो ‘नेगोसियटर’ बनाएको मानिन्थ्यो ।
हुन पनि, कोइराला परिवारसँग राम्रो सम्बन्ध भए पनि गिरिजाप्रसाद शक्तिमा आएपछि निधि सँधै विपक्षी खेमाको बलियो खम्बाका रूपमा उभिए, कहिल्यै विचलित नभई ।
पार्टीभित्र प्रतिपक्ष बनेका देउवालाई साथ दिएर विभाजन हुँदासमेत सँगै गएका नारायण खड्का, मिनेन्द्र रिजाल, बलबहादुर केसी, प्रकाशमान सिंहलगायतका नेताले कालान्तरमा साथ छाडे पनि विमलेन्द्र अविचलित रूपमा देउवासँगै रहे । उनी, अवसर र लाभका निम्ति ‘क्याम्प’ परिवर्तन नगरी देउवालाई पार्टी नेतृत्वमा पु¥याउन दिलोज्यान दिएर लागे ।
काँग्रेसमा विमलेन्द्र सँधै गिरिजाप्रसादको विपक्ष र देउवाको पक्षमा रहनुको खास कारण थियो । काँग्रेसका महामन्त्री बनेका उनका बुवा महेन्द्रनारायण निधि गिरिजाप्रसाद नभई कृष्णप्रसाद भट्टराई नजिक रहे । कालान्तरमा भट्टराई खेमाको ‘लिगेसी’ देउवामा सर्दा निधिपुत्र विमलेन्द्र यो खेमाको खम्बा बन्न आइपुगे ।
राजनीतिक ‘करिअर’ मा पारिवारिक विरासत महत्वपूर्ण हुने गरे पनि काँग्रेसभित्र विमलेन्द्र त्यस्ता नेता हुन्, जो पिताको विरासतको छायाँ बाहिर आफ्नै सङ्घर्षबाट स्थापित भए । विमलेन्द्रले स्थापित गरेको अर्को मान्यता के हो भने, बुबा चुनाव लड्दासम्म उनले टिकट खोजेनन् ।
२०५१ को मध्यावधि निर्वाचनमा बुबाले छाडेको धनुषा–४ बाट उनी पहिलोपटक सांसद् भए । २०५६ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा धनुषा–३ बाट विजयी भए ।
उनले जनकपुर नगर समेटिएको धनुषा–४ छोड्नुको प्रमुख कारण थियो– त्यो निर्वाचन क्षेत्रमा जातिवादी, अतिवादी र आपराधिक सोच भएकाहरू निर्णायक बन्नु । तर, सङ्घीय संरचना पछि अहिले जनकपुर उप–महानगर बनेको छ भने निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ ।
जानकारहरूका अनुसार बौद्धिक राजनीतिकर्मीहरूका लागि जनकपुर जोखिमपूर्ण क्षेत्र भएको बताउँछन् । जसले जहिल्यै अप्रत्यासित नतीजा दिन सक्छ ।
त्यसो त, मधेशी समुदायका भए पनि काँग्रेसको सिङ्गो पार्टी सङ्गठनमा छाएका नेता विमलेन्द्र पछिल्लो समय जातिवादी रूपमा देखापरेको आरोप पनि लाग्ने गरेको छ । संविधान जारी हुनुअघि उनले पार्टीको संसदीय दलमा पेश गरेको जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता वितरणलगायतका मागले काँग्रेसभित्र हल्लीखल्ली भएको थियो ।
२०६३ सालको मधेश आन्दोलनमा सबभन्दा ज्यादा साम्प्रदायिक भावना जनकपुरमै भड्कियो । पहाडी समुदायका दुई हजारभन्दा बढी बासिन्दा विस्थापित भए । विमलेन्द्रमाथि काँग्रेस महामन्त्री भएर पनि मधेश आन्दोलनमा सहयोग गरेको र पहाडे समुदाय लखेटिने अवस्था आउँदा आँखा चिम्लेको आरोप पनि लाग्यो ।
पछिल्लो मधेश आन्दोलनमा पनि आन्दोलनकारीलाई उक्साउने काम गरेको, पार्टीभित्र पनि ‘मधेशी नेता’ का रूपमा बढी पेश हुनथालेको र विरोधीप्रति बढी ‘असहिष्णु’ भएको आरोपका बीच विमलेन्द्र निधिलाई काँग्रेसको भावी नेतृत्वको रूपमा हेर्न थालियो । तर, १४ औँ महाधिवेशनमा त्यसो हुन सकेन ।
‘दुई दशकअघि नेपाली काँग्रेसको बहुमतले प्रधानमन्त्री बनाउने निर्णय गर्दागर्दै महेन्द्रनारायण निधि जनकपुर फर्किनुपरेको थियो’, मधेश राजीनितिका जानकार डा.सुरेन्द्र लाभ भन्छन्, ‘आज त्यही हैसियतमा पुग्न थालेका उनका छोरा विमलेन्द्रमाथि मधेशी भएकै कारण चुनौती भोग्नुपर्ने अवस्था आएको छ ।’
विमलेन्द्रले ठूलो पार्टीमा षड्यन्त्र गरेर सिध्याउने विगतबाट पाठ सिक्दै, जनतासँग जोडिन नसकेको आफ्नै सामन्ती शैलीको राजनीतिमा बदलाव ल्याउँदै मधेश र काँग्रेसमा मात्र नभएर सबै पार्टी र सिङ्गो देशसँग सम्बन्ध राख्ने क्षमता देखाउनुपर्ने बेलामा निधि कमजोर हुन थालेको उनको आँकलन छ ।
२०१७ सालको घटनापछि जनकपुरमा काँग्रेसका दुई धार थिए । तीमध्ये एउटाको नेतृत्व महेन्द्रनारायण निधिले गर्थे । अर्को धारको नेता बोधप्रसाद उपाध्याय र सरोज कोइराला थिए ।
२०३६ को जनमत सङ्ग्रहपछि आएको केही खुलापनमा काँग्रेसभित्र ध्रुवीकरण शुरू भयो । बीपीले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाएकाले पार्टीमा महेन्द्रनारायणको भूमिका बढेको थियो । जनकपुरमा एउटा धारको नेता उनी नै थिए । अर्को समूहको नेतृत्वमा भने लीला कोइरालाहरू आएका थिए ।
पारिवारिक पृष्ठभूमि, जेल भोगेको अवधि र आफ्नो गुटका नेताप्रतिको वफादारी काँग्रेसमा राजनीतिक योग्यताको आधार बन्ने गरेको छ । विमलेन्द्र निधिसँग यी सबै कुरा थिए । पछिल्लो समय राजनीतिमा निर्णायक बनेको समावेशी लोकतन्त्रको नारा र त्यसमा पनि मधेशी समुदायको नेता हुनुको लाभ उनले उठाए ।
डा. रामवरण यादव राष्ट्रपति बनेपछि र महन्थ ठाकुर र विजय गच्छदारले पार्टी छाडेपछि त अवस्था यस्तो आयो, काँग्रेसमा उनी बराबर राजनीतिक हैसियत र उँचाइ भएका मधेशी नेता कोही भएनन् । मधेशको नाममा काँग्रेसभित्र विमलेन्द्रको विकल्प र चुनौती उनी आफैं बन्न पुगे ।
काँग्रेस विभाजनपछि पनि देउवाको साथ नछाडेका विमलेन्द्र निधि पार्टी एकीकरणपछि डा. रामवरण यादव र कुलबहादुर गुरुङसँगै महामन्त्री बने । नेतृत्व तहमा पुग्न नसकेका काँग्रेसका हस्तीहरू त्यसबेला भन्ने गर्थे– ‘हेर्नुहोला, अब पार्टी चलाउने विमलेन्द्र नै हो ।’
१२ वर्षमै जेल, २३ वर्षमा नेविङ्घको अध्यक्ष (राजनीतिक करिअर)
राजनीति शास्त्रमा स्नातकोत्तर गरेका निधि १२ वर्षको उमेरमा जेल परे । सानै उमेरमा जेलको अनुभव समेत गरेका निधि नेपालको प्रजातान्त्रिक आन्दोलनका एक खम्बाका रुपमा स्थापित छन् । मधेशको राजनीतिमा एक बादसाहका रुपमा पहिचान बनाएका निधिले जेलबाटै एसएलसीसम्मको अध्ययन पूरा गरे ।
मधेशको जातीय समीकरणमा उपल्लो जातिको कायस्थ हुन् निधि । मधेशी समाजमा चलाख भनेर बुझिने कायस्थहरूलाई ‘चित्रगुप्तका खानदान’ भन्ने गरिन्छ । र, विमलेन्द्र निधिले चतुरतामा कहिल्यै कमी देखाएनन् । तर, पछिल्लो समय उनको चतुर्यता पनि काम लागिरहेको छैन ।

अर्को भनेको निधि र नयाँ पुस्ताबीचको ग्याप देखियो । उहाँको आसपासमा भएकाहरूले मात्रै निधि जीलाई बुझे, उनलाई समर्थन गरे र त्यसबाहेक उहाँसँग नयाँ पुस्ताले चिन्ने मौका पाएनन् ।
उनको राजनीति करिअर सानै उमेरबाट सुरु भयो । त्यसो त उनी देउवा पछि नै २३ बर्षमै नेपाल विद्यार्थी सङ्घका अध्यक्ष बनेका हुन् । अध्यक्ष बन्नु अघि २०२७ मा उनी नेविसङ्घको सदस्य थिए । २०२८ मा महन्थ ठाकुर र रामप्रसाद गिरीसँगै पक्राउ परेपछि जलेश्वर कारागार चलान भए । त्यसपछि २०२९ मा जनकपुरको राम स्वरुप राम सागर बहुमुखि क्याम्पसको स्ववियू सचिव बने । २०३३ मा स्नातक तहमा अध्ययन गरिरहँदा तेस्रोपटक पक्राउ परे अनि १८ महिना जेल मै बसे । २०३६ मा उनी नेविसङ्घको अध्यक्ष बने । नेविसङ्घको जनकपुर अधिवेशनमा निधिलाई अध्यक्ष बनाउन बीपीले भिटो लगाएका थिए ।
नेविसङ्घको अध्यक्ष बनिसके पछि निधिको राजनीतिक करिअरले थप उचाइँ लिन थाल्यो । २०४७ सालमा अन्तरिम सरकार बन्दा उनका बुबा महेन्द्र नारायण निधि जलस्रोत तथा स्थानीय विकासमन्त्री बनेपछि उनी पनि काठमाडौँ बस्न थाले । २०५१ मा मध्यावधि निर्वाचनमा उनी धनुषा ४ बाट सांसद बने । २०५२ मा पहिलोपटक सामान्य प्रशासन मन्त्री बने । २०५९ मा देउवा नेतृत्त्वको सरकारमा दोस्रो पटक मन्त्री बन्दै शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाले ।
२०६३ मा पार्टी एकीकरण पछि उनी महामन्त्री बने । २०६४ मा संविधानसभा निर्वाचनमा धनुषा ३ बाट सांसद बने । २०७० मा दोस्रोपटक धनुषा ३ बाटै निर्वाचित भए र सुशिल कोइराला नेतृत्वको सरकारमा पुनः मन्त्री बने अनि भौतिक योजना मन्त्रालय सम्हाले । त्यसको ठीक ३ वर्षपछि मधेशी मुलका व्यक्ति पहिलोपटक गृहमन्त्री बन्यो । तीनि थिए, विमलेन्द्र निधि । काँग्रेस माओवादी गठबन्धन निर्माणमा मुख्य भूमिका निर्वाह गरेकै कारण उनलाई पहिलो पटक उपप्रधान तथा गृहमन्त्री बनाइयो । यो उनको लागि मात्रै नभएर समग्र मधेशको लागि गर्वको कुरा थियो ।
मधेशमा किन कमजोर हुँदैछन् निधि ?
मधेश शब्द मधेश आन्दोलन पछि बढी चर्चामा आएको हो । हुन त त्यसअघि पनि मधेश शब्द र मधेशी नै भनेर चिनिन्थ्यो । तर, २०६३ मा भएको मधेश आन्दोलन पछि मधेश शब्द र मधेश राजनीति बलियो रुपमा स्थापित भयो ।
मधेश राजनीतिको कमाण्ड वामपन्थी पृष्ठभूमिका उपेन्द्र यादवको हातमा पुगेपछि महन्थ ठाकुर, विजय गच्छदार लगायतका काँग्रेस पृष्ठभूमिका नेताहरूलाई अगाडि बढाएको र त्यसबाट पनि पार नलागेपछि देशको पुरानो पार्टी काँग्रेसभित्रै मधेशको नेता ग्रुम गर्ने निष्कर्षमा पुगेको विश्लेषण गरिन्छ । तर, तीनै निधिलाई काँग्रेसले सभापतिमा उठाउन चाहेन भने मधेशका राजनीतिज्ञले पनि उनलाई स्वीकारेनन् ।
मधेशको बलियो र स्थापित अनि शक्तिशाली पार्टीको प्रभावशाली नेता त्यसमाथि राम्रो दम्भ राख्ने निधिलाई पार्टीले नै अहिले पाखा लगाउन थालेको देखिन्छ । उनलाई असहयोेग गर्नेको कमी त छैन । तर, उनी अझै शान्त भएर आफ्नो क्षेत्रलाई बलियो बनाउनमा लागि रहेका छन् ।
मधेशका मुद्दामा आक्रामक रूपमा पेश हुन थालेका उनी मधेशी समाजमा निर्णायक मानिने जातीय समीकरण मिलाएर काँग्रेसको प्रभाव फर्काउन नसकेकै कारण सभापतिमा नराम्रोसँग पराजित भए । पराजित हुँदै गर्दा तीनै देउवालाई दोस्रो पटकमा निधिले सहयोग गर्नु प्रत्युत्पादक भएको विश्लेषण गरिन्छ । त्यतिबेला सबैले अब निधि र देउवाबीचको सम्बन्ध ठीक भयो भनेर सोँचे तर, सम्भवतः त्यसो छैन होला ।
वर्तमान सभापति शेर बहादुर देउवाको विरुद्धमा लागेको र राम्रो पकड बनाएकै कारण निधिलाई मधेमा सिध्याउने चलखेल भइरहेको जानकारहरू बताउँछन् । सभापतिमा पराजित हुनु र गठबन्धनमा बनेको सरकारका कारण निधिलाई आफ्नै क्षेत्रमा कमजोर बनाउन थालिएको देखिन्छ । तर, महाधिवेशन पछि निधि निरन्तर आफ्नो गृह जिल्लाको भ्रमण र त्यहाँको राजनीतिमा आफ्नो अस्तित्व जोगाउनका लागि जुटिरहेका छन् ।
हुँदाहुँदै अब हुने प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनको नाममा निधिलाई बायकट गर्ने सङ्केत देखिएपछि उनले समानुपातिक रोजेका छन् । २०७४ को चुनावमा आफ्नै जन्मथलो रहेको निर्वाचन क्षेत्रबाट पराजित भएका कारण यसपटक जित्नै पर्ने दवाव निधिलाई थियो । तर, २०७४ को निर्वाचनमा चुनाव लडेका राजेन्द्र महतोले यसपटक पनि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने बताएपछि आफू फेरि पराजित हुने हो की भन्ने आशङ्का निधिलाई हुन सक्छ ।

२०७४ को निर्वाचनमा आफ्नै क्षेत्रमा पराजित हुनु, पार्टी भित्र उनको पहुँच कमजोर हुुनु, गठबन्धनका कारण टिकट पाउने सम्भावना कमजोर देख्नु, स्थानीय तहको निर्वाचनमा काँग्रेसले नतिजा लगायतका कारणले निधिले समानुपातिक रोजेको हुनुपर्ने कतिपयको तर्क छ ।
बेलाबेलामा हल्ला सुनियो महतोलाई निधि फकाउँदैछन्, यो निर्वाचन क्षेत्र छोडिदिनुस् भनेर । तर, त्यो सम्भव भएन । र, लोकतान्त्रिक समाजवादीले महतोको नाम धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट सिफारिस गर्यो ।
सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै सबैको ध्यान धनुषामा थियो । कारण, निधिले यसपटक चुनाव जित्नै पर्ने उनका समर्थक र अनुयायीले गरिरहेका थिए । तर, निधिले यसपटक प्रत्यक्षभन्दा पनि समानुपातिक रोजे । यो विषय पनि सबैका लागि आश्चर्यजनक बन्यो । किनकी निधिले अहिले नै समानुपातिक रोज्नुको कारण उचित नभएको कतिपयको विश्लेषण छ ।
निर्वाचनको मिति घोषणासँगै निधिले प्रत्यक्ष तर्फ उम्मेदवारी दिने र यसपटक जित्ने भनेर हल्ला र बहस भइरहँदा उनले धनुषा बाहेकका अन्य क्षेत्रबाट पनि चुनाव लड्ने कुरा गरे । तर, आखिरमा समानुपातिक नै जानु उचित हुने भन्दै उनको नाम पार्टीबाट पनि समानुपातिकमै सिफारिस गरियो । निधिले समानुपातिक रोजेसँगै बहस हुन थाल्यो, आखिर अहिले नै समानुपातिक किन ? यसको जवाफ निधिले नै दिँदा बेस । तर, उनका शुभेच्छुकहरूसँग बुझ्दा निधिको यो निर्णय उचित नभएपनि सेफ ल्यान्डिङ रहेको बताउँछन् ।
२०७४ को निर्वाचनमा आफ्नै क्षेत्रमा पराजित हुनु, पार्टी भित्र उनको पहुँच कमजोर हुुनु, गठबन्धनका कारण टिकट पाउने सम्भावना कमजोर देख्नु, स्थानीय तहको निर्वाचनमा काँग्रेसले नतिजा लगायतका कारणले निधिले समानुपातिक रोजेको हुनुपर्ने कतिपयको तर्क छ । अर्को कुरा पार्टीको १४ औँ महाधिवेशनमा पनि सभापतिको रुपमा आफूलाई प्रस्तुत गर्दा आफ्नै जिल्लाबाट पनि सन्तोषजनक मत प्राप्त हुन सकेन भने पार्टीकै नेता कार्यकर्ताबाट पनि घात हुनसक्ने आशङ्का उनलाई छ ।
राजनीतिमा लागेदेखि ५ पटक चुनाव लडेका निधिले ३ पटक जित हात पारेका छन् भने २ पटकको चुनावमा पराजित भएका छन् । पहिलोपटक उनले चुनाव लड्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्ण प्रताप मल्लसँग ४ हजार ७ सय ७७ मतले विजयी भएका थिए । यो २०५१ मा भएको मध्यावधि निर्वाचन थियो । जसमा उनले २१ हजार ३ सय ४० मत ल्याएका थिए भने मल्लले १६ हजार ५ सय ६३ मत प्राप्त गरेका थिए । त्यसपछि २०५६ मा भएको निर्वाचनमा निधि तिनै मल्लसँग ५ हजार २ सय ४० मतले पराजित भए । मल्लले २४ हजार २ सय ९३ मत ल्याउँदा निधिले १९ हजार ५३ मत प्राप्त गरेका थिए । त्यतिबेला धनुषा निर्वाचन क्षेत्र नम्बर ४ थियो, निधिको जन्मथलो । २०६१ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा उनी लड्दै आएका निर्वाचन क्षेत्रलाई ३ नम्बर निर्धारण थरियो । पहिलो संविधान सभामा फेरि निधि विजयी भए । उनले त्यतिबेला नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हरिदेव मण्डललाई पराजित गरेका थिए । निधिले १५ हजार ५ सय ८२ मत ल्याउँदा मण्डलले ९ हजार ९ सय ३६ मत ल्याएका थिए । त्यसपछि २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि निधिले जित हात पारे । उनले त्यतिबेला पनि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी जुली कुमारी महतोलाई १ हजार ४ सय ९२ मतले पराजित गरेका थिए । निधिले १५ हजार ३१ मत ल्याउँदा महतोले १३ हजार ५ सय ३९ मत ल्याएकी थिइन् । त्यसपछि मुलुक सङ्घीय संरचनामा गएसँगै भएको पहिलो प्रतिनिधि सभा निर्वाचनमा निधि राजेन्द्र महतोसँग पराजित भए । महतोको निर्वाचन क्षेत्र नभएपनि उनले निधिको जन्मथलोमा आएर चुनाव लड्दै २ हजार ९ सय ३ मतले जित हात पारे । निधिले २७ हजार ८ सय ४७ मत ल्याउँदा महतोले ३० हजार ७ सय ५० मत प्राप्त गरेका थिए ।
यसरी निधिको मत सङ्ख्या हेर्दै जाने हो भने उनको जुन तहको उचाइँ बढ्दै गयो राजनीतिक यात्रामा त्यस अनुसार मत क्रमशः घट्दै गएको देखिन्छ । उनको मत घट्नुको कारणबारे सम्भवतः निधि स्वयंले विश्लेषण र आँकलन गर्न भ्याइसके होलान् । चुनावमा खर्च हुने, नेता कार्यकर्ता र मतदातालाई रिझाउन समय खर्चिने तर, मत नआउने कारण के होला भनेर उनी र उनका समर्थकहरूले सोचविचार गर्न भ्याएका छन् होलान् ।
आफ्नै क्षेत्रमा किन कमजोर हुँदै गए निधि ?
निधिलाई मधेश राजनीतिको बलियो र प्रभावशाली नेताको रुपमा मान्ने धेरै थिए । तर, वर्तमान समयमा उनको अस्तित्वलाई स्वीकार्न उनकै क्षेत्रका नागरिकलाई असहज भइरहेको छ । हामीले यसअघि चर्चा छ : मधेशमा निधि युगको अन्त्य हुँदैछ भन्ने लेखमा समावेश गरेका आधारहरू निधि आफ्नै क्षेत्रमा कमजोर हुनुको कारण पर्याप्त हुन्छ होला ।
त्यसबाहेक पनि हामीले उनकै क्षेत्रका केही जानकार र बुद्धिजीविहरूसँग बुझ्ने प्रयास गरेका थियौं । की, निधि आफ्नै क्षेत्रमा किन कमजोर हुँदै गए भनेर ? तर, नाम भने खुलाउन चाहेनन् । गोपनियताको हकलाई ध्यानमा राखेर एकजना बुद्धिजीविले भने, ‘लामो समयको सङ्घर्ष र देनकै कारण निधि जी सत्ता र पार्टीको महत्त्वपूर्ण स्थानमा पुग्नुभयो । उहाँले आफ्नो क्षेत्रको विकास पनि गर्नुभयो । सडक निर्माणदेखि पुल बनाउने, विद्यालय स्थापना गर्ने जस्ता विकास निर्माणका काम पनि गर्नुभयो । तर, त्यतिले मात्रै पुग्छ भनेर सोच्नु हुँदैन ।’
‘निधि जी भनेको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को मात्रै नेता नभएर राष्ट्रको नेता हुनुहुन्छ । उहाँलाई अन्तर्राष्ट्रिय नेताको रुपमा पनि चिनिन्छ । तर, उहाँको जुन रुपको वेट छ त्यस अनुरुपको काम गरेको देखिँदैन । कारण, उनकै क्षेत्रमा आजको दिनमा १० जना दलित वा पिछडिएका समुदायका व्यक्तिले उच्च शिक्षा हासिल गर्न पाएका छैनन् । मधेशमा विद्वानहरूको कमी छैन । तर, यो क्षेत्रबाट कुटनीतिक तहसम्म पुगेका व्यक्ति कोही छैनन् । सम्झिने गरी र देखिने गरेका काम केही गरेको देखिदैन ।’
अर्को भनेको निधि र नयाँ पुस्ताबीचको ग्याप देखियो । उहाँको आसपासमा भएकाहरूले मात्रै निधि जीलाई बुझे, उनलाई समर्थन गरे र त्यसबाहेक उहाँसँग नयाँ पुस्ताले चिन्ने मौका पाएनन् । जातीय समिकरणको आधारमा मात्रै चिनजान बढाउने तर, त्यसबाहेकका समुदायलाई उपेक्षा गरेको पनि देखिन्छ । आफ्नै समयुदाका व्यक्तिसँग पनि उनको प्रत्यक्ष संवाद, अन्तरक्रिया, भेटघाट भएको देखिँदैन । मधेशका व्यक्तिहरूको विकास भएको देखिँदैन भने निधि जीलाई मान्नेहरूले उहाँसँग फाइदा र लाभ लिइसकेपछि उहाँलाई छाड्नेहरू धेरै छन् ।
निधिलाई नयाँ पुस्ताले चिन्दैनन्, उनी कसैसँग प्रत्यक्ष संवादमा छैनन्, आफ्ना नजिक र आसेपासेलाई मात्रै अघि बढाउने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । यी र यस्ता थुप्रै कारण छन् जसले गर्दा उनको आफ्नै क्षेत्रमा मात्रै नभई मधेशमै कमजोर पकड हुँदै गएको देखिन्छ ।
अन्तिममा, ५ वर्ष, १० वर्ष वा २० वर्ष होइन निधिले आफ्नो जीवन नै राजनीतिबाट सुरुवात गरेका हुन् । तर, आफूले आफ्नै निर्वाचन क्षेत्रमा हार व्यहोर्दै गर्दा यसपटकको निर्वाचनमा जिति नै हाल्छु भन्ने विश्वास सम्भवतः उनले पाएनन् होला वा उनलाई कसैले त्यो विश्वास दिलाउन सकेन होला । यसपटक पनि निर्वाचनमा सोचे अनुसारकै मत आउँला भन्ने विश्वस्त वातावरण नबनेकै कारण होला उनले आसन्न मङ्सीर ४ को निर्वाचनमा समानुपातिक रोजेको हुन सक्छ । उनको यो आशङ्कालाई कतिपयले सत्य ठानेका छन् ।






