राष्ट्रपति विरुद्ध मधेशमा आन्दोलन सुरु भयो, कतै पुत्ला दहन, कतै विरोध र्याली निकाल्ने तयारी

जनकपुरधाम । सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरेपछि मधेशमा आन्दोलन सुरु भएको छ ।
एकाविहानै सिराहाको कसहामा जनमत पार्टीका नेता कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दैछ । उनीहरुले राष्ट्रपति भण्डारीले असंवैधानिक कदम विरुद्ध प्रदर्शन गरिरहेको बताएका छन् ।
त्यसैगरी राष्ट्रपति भण्डारी विरुद्ध जनकपुरधाममा पनि लोसपाले दिउँसो ३ बजे विरोध प्रदर्शन गर्ने जनाएको छ ।
उनीहरुले जनकपुरधाममको क्याम्पस चौकबाट जनक चोकसम्म विरोध र्याली निकाल्ने लोसपाका युवा नेता प्रशान्त झाले जनाएका छन् ।
पार्टी कार्यालय क्याम्पस चोकमा पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अनिवार्य उपस्थितीको लागि दिउँसो २ बजे बोलाईएको छ ।
युवा नेता झाले भने, २ बजे बैठक बसेर ३ बजे विरोध र्यालीका साथै आन्दोलनको थप कार्यक्रमको समेत घोषण गरिनेछ ।
त्यस्तै अन्य पार्टीहरु पनि आन्दोलन घोषणा गरिरहेका छन् ।
साथै नागरिकता नपाएर आफ्नै देशमा अनागरिक सरह बस्नु परेका नागरिकता विहीनहरुले पनि काठमाडौं सहितका ठाउँहरुमा आन्दोलन गरिरहेका छन् ।






