नागरिकता विधेयक प्रमाणीकरण नभएको विरोधमा पर्सामा प्रदर्शन, राष्ट्रपतिको राजीनामा माग

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालनिकट भ्रातृ सङ्गठनले नागरिकता विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध पर्सामा प्रदर्शन गरेको छ ।
समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा सङ्घ पर्साले संयुक्त रुपमा बुधवार वीरगञ्जमा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले राष्ट्रपतिको राजीनामासमेत माग गरेका छन् । उनीहरूले राष्ट्रपतिको राजीनामा माग्दै ‘७ लाख नागरिकलाई नागरिकताविहीन बनाउन पाइँदैन’ भन्दै नाराबाजी पनि गरेका थिए ।

उनीहरूले वीरगञ्जको आदर्शनगर र मुर्ली चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । जसपाका विद्यार्थी, युवादेखि जिल्ला, प्रदेश र केन्द्रस्तरका नेताहरू समेत प्रदर्शनमा सहभगी भए ।
जनता समाजवादी पार्टी नेपालका पर्सा सचिव तवरेज अहमदले संविधानको संरक्षकले नै संविधान विरोधी कदम चालेको विरोध गर्नुपरेको बताए ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि देशभर प्रदर्शन सुरु भएको छ ।
संसद्ले प्रमाणीकरणका लागि पठाएको विधेयक १५ दिन वित्दा पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको कतिपय संविधानविद्को तर्क छ भने सरकारले कानूनी बाटोको विषयमा छलफल सुरु गरेको छ ।






