तराई मधेशमा आज कोजगरा मनाइँदै

जनकपुरधाम । तराई मधेशमा आज कोजाग्रत पूर्णिमा अर्थात् कोजगरा पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका दिन पूजापाठका साथै नवविवाहित जोडीले विशेष पूजा आराधना गर्ने चलन छ ।

नव विवाहित बेहुली पक्षबाट बेहुलाको घरमा भार अर्थात् विशेष किसिमको कोसेली पठाउने परम्परा रहेको छ ।

भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कोशेली पठाउने चलन हुन्छ ।

बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षतासहित आशीर्वाद दिने प्रचलन छ ।

आजको दिन मिथिला क्षेत्रका प्रायः सबैले पान, मखान, मिठाइ खाने गर्छन् । आजको दिनलाई जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सवको रुपमा मनाइन्छ ।

जानकी मन्दिरका महन्थले भगवान् राम र सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन् । आज महोत्तरीको रतौलीबाट भार पठाइन्छ । फलफूल मिठाई दही च्यूरा, पान मखानसहितका एक सय ८ वटा भार पठाउने गरिन्छ ।

मन्दिरमा माता जानकी र भगवान श्रीरामको पूजापाठको तयारी बिहानैदेखि मन्दिरमा तयारी भइरहेको छ ।

प्रतिक्रिया