जसपाका मन्त्रीलाई प्रधानमन्त्रीले हटाएपछि मधेश सरकारले पनि अन्य दलका मन्त्रील हटाउँदै

काठमाडौं । सङ्घीय सरकारमा जनता समाजवादी पार्टी, नेपालका तर्फबाट मन्त्री बनेका चारजना पदमुक्त भएपछि मधेश प्रदेश सरकारले पनि अन्य दलका मन्त्रीलाई पदमुक्त गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जसपाका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन् ।
जसपाले आगामी निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जसपाका तर्फबाट मन्त्री बनेकाहरूलाई पदमुक्त गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जसपा बाहेक दलका तर्फबाट मन्त्री बनेकाहरूलाई हटाउनु स्वभाविक भएको बताए ।
नागरिक मिररसँगको विशेष कुराकानीमा उनले भने, ‘यो स्वभाविक प्रक्रिया हो । हाम्रो पार्टीको तर्फबाट मन्त्री बनेकालाई हटाइएपछि यहाँ पनि जसपा बाहेकका मन्त्रीलाई हटाइन्छ । आज भोलिमै अन्य दलबाट मन्त्री बनेकालाई हटाइन्छ । यसलाई अन्यथा भने लिनु हुँदैन ।’
राष्ट्रपति भण्डारीले चारवटै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकेकी छन् । त्यस्तै कानुन‚ न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाएका छन् । मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको पदावधि सकिएका कारण कानुन मन्त्रालय मन्त्रीविहीन भएको थियो ।






