कालीकोटमा बम बिष्फोट हुँदा २ जनाको मृत्यु, ३ जना घाईते

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका(१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको भएको प्रजिअ रामहरि शर्माले जानकारी दिउको छ ।

घटनामा सोही ठाउँका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना आज बिहान ८ बजेको हो । बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्रजिअ शर्माले बताएको छ । उनका अनुसार कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको छ ।

विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री बालकृष्ण खाण गृह प्रशासनलाई निर्देशन दिएको छ ।

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिएको छ । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा सो विष्फोट भएको बताए ।

प्रतिक्रिया