धनुषाबाट सर्लाही पुगेका महतोको संसदीय राजनीतिमा एकचोटी फेरी पूर्ण विराम !

काठमाडौँ । राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ । मधेस केन्द्रित राजनीति गर्दै आएका महेन्द्रराय यादव र राजेन्द्र महतोको हकमा पनि एकचोटी फेरी त्यस्तै सावित भएको छ । प्रतिनिधिसभाको मंसीरमा ४ मा सम्पन्न निर्वाचनमा तराई मधेसमा यी दुई नेता एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीका रुपमा खडा भएका थिए ।

सद्भावना पार्टीबाट राजनीति सुरु गरेका महतो र कम्युनिष्ट पार्टीबाट अगाडि बढेका यादव कुनै समय एउटै पार्टीमा आवद्ध थिए । घटनाक्रमले उनीहरुलाई एकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुपर्ने अवस्था सिर्जना गरिदियो । त्यसमा यसपटक यादवले आफूलाई श्रेष्ठ सावित गरेर जित निकाले । यसअघि ०७० को दोस्रो संविधानसभा चुनावमा पनि महतो यादवसँग सर्लाही ४ बाट पराजित भएका थिए ।
तत्कालीन राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका छ सदस्यमध्ये उनीहरु दुबैजना थिए । प्रकारान्तरणले सो पार्टी विभाजित भयो । जनता समाजवादी पार्टीका रुपमा नेपाली राजनीतिमा अगाडि बढिरहँदा यादवले डा.बाबुराम भट्टराई र उपेन्द्र यादवलाई साथ दिए । महतो भने तराई मधेसका अर्का नेता महन्थ ठाकुरसँगै रहे ।

पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा विवाद सुरु भएपछि महेन्द्रले डा.भट्टराईसँगै रहने निर्णय गरे । यस पटकको निर्वाचनमा डा.भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न हसिया हथौंडालाई नै रोज्यो ।

सत्तागठबन्धमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी थियो । त्यस पार्टीका नेता थिए महतो । यता यादव पनि नेपाल समाजवादी पार्टीका तर्फबाट भएपनि वाम–लाकतान्त्रिक गठबन्धनमा आवद्ध थिए । जनतामा मत माग्न जाँदा प्राप्त हुने नजितालाई स्वीकार गर्नुको विकल्प छैन । यस्तै भयो महतो र यादवका हकमा पनि ।

हसिया हथांैडा चिह्नमा सर्लाही क्षेत्र नं. २ बाट उम्मेदवार रहेका यादवले २३ हजार पाँच सय २९ मत प्राप्त गरी विजयी भए भने लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता महतोले २१ हजार पाँच सय १८ प्राप्त गरे ।
यसअघि पनि २०७४ को निर्वाचनमा यादव सर्लाही क्षेत्र नं. २ बाटै प्रतिनिधिसभामा विजयी भएका थिए ।

यादवले २०५१ को निर्वाचन र २०५६ मा नेकपा एमालेबाट सर्लाहीबाटै निर्वाचित भएका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा यादव सर्लाहीबाटै तेस्रो चोटी निर्वाचित भएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले महतोलाई पराजित गर्दै सर्लाही ४ बाट निर्वाचित भएका थिए ।

०५४ मा उनी राज्यमन्त्री, ०६४ मा सिँचाइमन्त्री, ०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए । कृषि र अर्थतन्त्रमा विशेष रुची राखेका यादवले राजनीतिक आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र थुनामा परेका छन् ।

प्रतिक्रिया