मिर्चैया नगरपालिकामा बीउ वितरणको विषयमा मेयर र वडाध्यक्षबीच विवाद, किसान प्रभावित

मिर्चैया । मिर्चैया नगरपालिकाको मेयरले किसानलाई गहुँको बीउ बाँड्न रोक लगाएको वडाध्यक्षले आरोप लगाएका छन् ।
मिर्चैया नगरपालिका वडा नं.३ का वडाध्यक्ष पवित्री देवी यादवले नगरपालिकाका मेयर श्रवण कुमार यादवले वडाका किसानलाई गहुँको बीउ वितरण गर्न रोक लगाएको आरोप लगाएकी हुन् । उनले आफू स्वतन्त्रबाट निर्वाचित भएको भन्दै मेयरले प्रतिशोध स्वरुप बीउ वितरणमा लोक लगाएको बताइन् ।
वडाध्यक्षले यादवले गहुँको बीउ मात्र होईन यसअघि किसानलाई बाँड्न लागिएको मलखाद वितरणमा पनि रोक लगाएको आरोप लगाइन् । उनले भनिन्, ‘वडाका कुनै पनि कार्य गर्दा मेयरले पटक पटक अवरोध गरिरहेको छ । वडाका लागि नगरपालिकाबाट १२ क्विन्टल गहुँको बीउ वितरणका लागि आएको छ । मैले वडाका सबै किसानलाई समेट्ने गरी १० किलोका दरले गहुँ वितरण गर्ने तयारी गरेको थिए । तर, मेयरले रोक लगाएपछि किसानलाई बाँड्न सकिएको छैन ।’
वडाबाट गहुँको बिउ लिन वडाका किसानहरू नगरपालिका पुगेका थिए । तर, वितरण गर्नै लाग्दा अचानक त्यहाँ मेयर आएर गहुँ वितरण गर्ने कर्मचारीलाई वितरण नगर्न निर्देशन दिएको वडा अध्यक्ष यादवले बताइन् । उनी भन्छन्, ‘आपसी प्रतिशोधकै कारण वडाको विभिन्न कार्यहरू अवरोध गरिरहेको छ ।’
मेयर माओवादीबाट जितेका छन् अनि म स्वतन्त्रबाट जितेर आएकै कारण मलाई असहयोग गरिरहेको वडाध्यक्षले आरोप लगाइन् । यस वडामा ४ वटा वडासदस्य पनि माओवादीकै भएको कारणले पनि मलाई ती वडासदस्यहरुमार्फत वडाको जनहितमा पनि गर्ने काममा अवरोध खडा गरिदिने गरेको उनको भनाइ छ ।
वडाध्यक्ष यादव भन्छिन्, ‘उनीहरूले हरेक कुरामा भाग खोज्छन् । वडाध्यक्षले सबै सेवासुविधा जनतासमक्ष समान ढङ्गले पु¥याउन खोजे पनि वडासदस्यहरूले आफ्ना पार्टीका आसेपासेका लागि र भ्रष्टाचार गर्ने उद्देश्यले भाग माग्ने गरेकोले उनीहरूको कुरा नगर्दा यस्ता अवरोध खडा गरेको हो ।’
यता मेयर यादवले यो आरोप निराधार रहेको बताएका छन् । उनले भने, ‘मैले होईन त्यस वडाकै वडासदस्यहरूले वडाध्यक्षले मनमौजी गरे भनेर गुनासो आएप्छि उक्त वडामा गहुँ वितरण कार्य रोकिएको हो । गहुँको बीउ वितरण रोकेर नगरपालिकाबाट ४ दिन अघि नै ७ दिनभित्र लाभग्राहीको विवरण पठाउँन पत्राचार गरेको छु ।’
मेयर यादवले त्यस वडामा गहुँको बीउ लिने लाभग्राहीको विवरण वडासमितिको सर्वसम्मत निर्णय भएर आएपछि तत्कालै गहुँको बीउ वितरण हुने बताए ।
उनले वडाध्यक्षको मात्रै सिफारिसमा गहुँको बीउ वितरण गरियो भने वडासदस्यहरूले विवाद गर्छन त्यही भए उक्त विवाद नहोस् भनी वडासमितिको निर्णय माग गरेको भन्दै यसलाई वडाध्यक्ष यादव अवरोध भन्नुहुन्छ त्यसैले यो आरोप निराधार रहेको बताए ।
मेयर र वडाध्यक्षको विवादका कारण किसान भने प्रभावित बनेका छन् । बीउका लागि पर्खिरहेका मिर्चैयाका किसानहरू मेयर र वडाध्यक्षका कारण प्रभावित हुँदा बालीनाली लगाउन समस्या भएको बताउँछन् ।






