गाैरीपुरका चमार समुदाय : बटैयामा धान राेप्छन्, धियापुतालाई विद्यालय पठाउँछन्

सिरहा । सिरहा सदरमुकामबाट ९ किलोमिटरकाे दुरीमा छ, गौरीपुर गाउँ । विष्णुपुर गाउँपालिका १ मा पर्ने गौरीपुरमा कायस्थ, हलुवाई, पासवान, चमार, मुसहर, डोम लगायत समुदायको बसोबास छ । दलित समुदायकाे बाहुल्यता रहेको यस गाउँमा कमजोर आर्थिक अवस्था र विभेदमा बाँच्न बाध्य चमार समुदायको जीवनस्तर सुधारउन्मुख हुँदै गएकाे छ ।
विष्णुपुरका ८० वर्षका रामा महरा, अरूको खेतमा बटैया अर्थात् अधियाँमा धान राेपछन् । खेती किसानीमा लागेपछि धेर-थोर कमाइ गर्न र जीविकाेपार्जन चलाउन समस्या नभएको उनले बताए । खेती किसानीमा लाग्नु अघि उनको जीवन गुजाराको माध्यम नै पुर्ख्यौली पेसा थियो । उनकाे पुर्ख्यौली पेसा भनेको छालासम्बन्धी काम गर्ने, मरेको मानिस जलाउने, सिनो फाल्ने जस्ता काम थियाे । यो पेसाबाट न त पर्याप्त आम्दानी हुन्थ्यो न त समाजमा कसैले सम्मान गर्थ्यो । यसले उनलाई सामाजिक र आर्थिक दुवै रूपमा जीवन चलाउन असहज थियो । खेतमा लटरम्मै फुलेका पहेला धानकाे वाला काट्दै गर्दा भेटिएका महरा सुनाउछन्, ‘मलाई बा-आमाले पढाएनन् । म जन्मेको बेला छोराछोरीलाई पढाउनुपर्छ भन्ने पनि थाहा थिएन । तर, अहिले मेरा सबै छोराछोरी र नातिनातिनाले कम्तिमा पनि १० कक्षा पढेका छन् । विदेश गएका छन् । जीवन सहज बनाएका छन् । जसले गर्दा खेतमै पसिना बगाउन पाउँदा म पनि खुसी छु ।’
त्यस्तै अर्का ४२ वर्षका रेमडी महरालाई पढ्न नपाएको जति दुखेसो छ, त्योभन्दा बढी धोको छ, आफ्ना सन्तानलाई पढाउने । धान काट्नका लागि हातमा हँसिया र पानीको बोतल लिएर हिँडिरहेकि रेमडी भन्छिन्, ‘मैले त पढ्न पाइनँ । तर, दुई जना छोरा र एउटी छोरीलाई सकेसम्म धेरै पढाउने इच्छा छ । उनीहरूलाई ठुलो मान्छे बनाउने धोको छ ।’ उनले मुसुस्क अनुहार बनाउँदै भनिन्, ‘जेठो छोरा १२ कक्षा पढेर विदेश गएको छ ।कान्छो छोरा ७ कक्षामा, र छोरी ९ कक्षामा पढिरहेको छ ।’
गौरीपुर गाउँमा १ सयभन्दा बढी चमार समुदायका परिवार बसोबास गर्छन् । यो समुदायबाट अघिल्लो पुस्ताका मानिस उच्च शिक्षा हासिल गरेका कोही भेटिँदैनन् । तर, झोला बोकेर विद्यालय जाने बालबालिका भने थुप्रै भेटिन्छन् ।
मानव विकास सुचाङ्कले तराईका दलित समुदाय, शिक्षा, स्वास्थ्य र रोजगारीको हिसाबले सबैभन्दा कमजोर अवस्थामा रहेको देखाउँछ । ०६२/६३ को परिवर्तन र मधेस आन्दोलनपछि तराइका दलित समुदायको हकहितमा धेरै काम भएको अधिकारकर्मीहरू बताउँछन् ।
विष्णुपुरकै घुरन महराका दुई छोरा र एक छोरी छन् । दुवै छोराले कक्षा १२ सम्मको पढाई पूरा गरे, छोरीले कक्षा १० सम्म पढिन् । अब सुखका दिन आउने घुरनको अपेक्षा छ । उनि पनि बटैयामा खेती गर्छन् । साथै मौसम अनुसारको खेतीपातीबाट उनलाई घरपरिवार चलाउन सहज भएको छ ।
सानो हुँदाका आफ्ना पीडा सुनाउँदै घुरन भन्छन्, ‘हाम्रो काम भनेको मरनी-हरनी गर्नु थियो । तर, काममा जान नमान्दा उल्टै हामीलाई समाजका ठूला जात भनाउँदाले कुटपिट गर्थे । त्यो काममा इज्जत र काम अनुसारको कमाई थिएन । पछि केही व्यक्तिले गाउँमा आएर हामीलाई र समाजका अरू व्यक्तिलाई पनि सम्झाई बुझाई गरेपछि हिजोआज सबै समान भएका छौँ । कसैले हामीलाई जबरजस्ती गर्दैनन् । खुसी लाग्छ । छोराछोरी पनि विद्यालय जान थालेपछि हामी पनि अरू सरह भयौँ भन्ने लागेको हो । अब त कतिपय युवा विदेशमा छन्, सबैको आफ्नै घर पनि छ, यो अझ खुसीको कुरा हो ।’

सुनरवती महरालाई आफ्नो उमेर त थाहा छैन । तर, नातिनातिनालाई पढाउने ठुलो धोको छ । उहाँका एक छोरा बुहारी, तीन नाति र एक नातिनी छन् । ठुलो नातिले १२ कक्षाको पढाई र ल्याबको तालिम लिएर लहानमा जागिर खाइरहेको अनि माहिलो छाेरा १० कक्षासम्म पढेर विदेश गएको उनले सुनाइन् । कान्छो नाति पाँच र नातिनी छ कक्षामा पढ्छन् । बुहारीले सिलाई कटाईको काम गर्ने भएकाले घरखर्च चलाउन थप सजिलो हुदै गएकाे उनी बताउँछिन् ।
यो समुदायका पाका पुस्ताका नागरिक आफूहरूले भाग्नुपरेको जस्तो विभेद अहिलेको पुस्ताले भाेग्नु नपरेकोमा खुसी रहेको बताउँछन् । आफ्ना छोराछोरी र नातिनातिना अरु सरह विद्यालय जान थालेपछि आफूहरूले भोग्नुपरेको विभेद बिस्तारै बिर्सँदै गएको उनीहरूको भनाइ छ । तर, अझै पनि कतिपय स्थानमा विभेदका घटना हुने गरेकाले मन खिन्न बनाउने गरेको यो समुदायका नागरिकको अनुभव छ । तर, समय सँगसँगै यो क्रम घट्दै गएको र नीतिगत सुधारले दलित समुदाय माथिको विभेद कम गर्न सघाएको गौरीपुरका प्राध्यापक शुभकान्तलाल कर्ण बताउँछन् ।
संविधानको धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हक, धारा ४२ मा सामाजिक न्यायको हक र धारा ४० मा दलितको हक उल्लेख गरिएको छ । यस्तै, कसैको जातजाती, पेसा, व्यवसायको आधारमा विभेद गर्न पाइँदैन भने राज्यका हरेक निकायमा सम्मानजनक सहभागिता हुने संविधानमै उल्लेख छ । त्यसको पूर्ण कार्यान्वयन भइ नसके पनि गौरीपुर गाउँको यो समुदायको फेरिँदो अवस्थाले केही काम भइरहेको सन्तुष्टि दिन्छ । चमार समुदायलाई हेर्ने अन्य समुदायको दृष्टिकोण पनि बदलिन थालेको छ । तर, राज्यको नीति निर्माण तहमा उपस्थिति बढ्न नसकेकोमा भने चमार समुदायका अगुवा चिन्तित देखिन्छन् ।
साैजन्य : सीआईएन






