मधेश प्रदेशमा बाल विकासकाे प्रादेशिक रणनीति सार्वजनिक

बर्दिवास । मधेस प्रदेशको प्रारम्भिक बाल विकासको प्रादेशिक रणनीति आज बर्दिवासमा सार्वजनिक गरिएको छ । मधेश प्रदेशमा रहेकाे शैक्षिक गुणस्तर सुधार सम्बन्धी निर्माण गरिएकाे रणनीतिले बालबालिकाकाे शैक्षिक सुधार गर्ने रहेकाे छ ।
यो रणनीति प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष डा. भोगेन्द्र झाले उद्घाटन गरेका थिए । कार्यक्रममा शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया सत्र पनि राखिएकाे थियाे ।
यो रणनीतिले सन् २०२८ सम्ममा मधेस प्रदेशमा गुणस्तरीय प्रारम्भिक बाल विकास कार्यक्रमहरू लागू गरी गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाको समग्र विकास (शारीरिक, सामाजिक, मानसिक, भावनात्मक र भाषिक) सुनश्चित गर्ने लक्ष्य राखेको छ। त्यस्तै बाल विकासकाे सवालमा मधेश सरकारले गहन रुपमा देखिएकाे सवालमा कार्य गरेकाे डा झाले बताए ।
मधेस प्रदेशका सामाजिक विकास मन्त्रीको अध्यक्षतामा प्रारम्भिक बाल विकास प्रादेशिक रणनीति विकास समितिले यो रणनीति तयार गरेको हो । यस रणनीति विकासलाई सेभ द चिल्ड्रेन र सेतो गुराँसले प्राविधिक र आर्थिक रूपमा सहयोग गरेको बताएका थिए ।
मधेस प्रदेश ‘प्रारम्भिक बाल विकास प्रादेशिक रणनीति’ पास गर्ने नेपालको पहिलो प्रदेश बनेकाे छ । यो रणनीति गत वर्ष माघमा पारित भएको थियो ।






