स्वार्थ बाझिएका नियुक्तिबारे निर्णय लिन प्रधानमन्त्रीलाई टीआई नेपालको आग्रह

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले स्वार्थ बाझिएका नियुक्तिबारे ध्यानाकर्षण भएको बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा हालै गठित मन्त्रिपरिषद्द्वारा भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य भएपनि यस सन्दर्भमा उक्त प्रतिबद्धतासँग मेल नखाने गरी मन्त्रिपरिषद्मा स्वार्थ बाझिएका कतिपय व्यक्तिहरू नियुक्त गरिएकोे तथ्यप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले ध्यानाकर्षण भएको बताएको हो ।
लोकतान्त्रिक मुलुकहरूमा सार्वजनिक पदमा नियुक्त हुने पात्र छनौट गर्दा स्वार्थ बाझिएको छ वा छैन भनी हेर्ने सामान्य प्रचलन भएपनि नवगठित मन्त्रिपरिषद्मा स्वार्थ जोडिएकै व्यक्तिहरू नियुक्त भएको विषय दुखद भएको टीआई नेपालको भनाइ छ ।
मन्त्रीपरिषदमा भएको यस्ता नियुक्तिबारे आमतहमा बहस हुन थालेकाले तत्काल यसको निक्र्यौल गर्न टीआई नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।
अन्यथा भ्रष्टाचार विरुद्ध सरकारको प्रतिबद्धता कार्यान्वयन हुन असहज हुने र सरकारप्रतिको जन अपेक्षा निराशातर्फ धकेलिने टीआई नेपालको भनाइ छ ।
लोकतन्त्रको विश्वव्यापी मान्यता अनुरूप मन्त्रिपरिषद्का सदस्यहरूले आफू संलग्न रहेको संस्था, कम्पनी, शेयर कारोबार, आफूसँग भएका चल–अचल सम्पत्ति अविलम्ब सार्वजनिक गर्न पनि टीआई नेपालले माग गरेको छ ।
टीआई नेपालले जारी गरेको विज्ञप्तिमा सुशासनका लागि भएपनि मन्त्रिपरिषद् र यसका सदस्यहरू आफैं निःशर्त कानून पालन गर्न अग्रसर हुनुपर्ने र नीति, निर्णय एवम् कानूनी प्रक्रिया प्रभावित हुन सक्ने कुनै पनि कार्य–व्यवहारबाट पृथक् रहनुपर्ने उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीले मुलुकलाई सुशासनको बाटोमा हिंडाउन प्रतिबद्ध रहेको अनुभूति दिलाउन स्वार्थ बाझिएका मन्त्रिपरिषद् सदस्यहरूका सम्बन्धमा तत्काल निर्णय लिनुपर्नेबारे टीआई नेपालले गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तिमा भनिएको छ ।






