बाराबाट स्वतन्त्र जितेका सांसद कलवार जसपामा प्रवेश

जनकपुरधाम । बाराबाट निर्वाचित स्वतन्त्र प्रदेश सासंद सारदा शंकर कलवार जनता समाजवादी पार्टी(जसपा) प्रवेश गरेका छन् । बारा निर्वाचन क्षेत्र नंं. २(क) बाट जितेका कलवारलाई आइतबार मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र विराटनगर महानगरका नगर अध्यक्ष अमरेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।
कलवारले९ हजार २ सय ९५ मत प्राप्त गरी एमालेका बलबिर भुजेललाई पराजित गरेका थिए । एमाले र जसपाबीचको तालेमल हुँदा उक्त क्षेत्र एमालेको भागमा परेपछि कलवारले असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । यता पुष २७ गते उनी बालकोट गएर नेकपा एमालेमा प्रवेश गरेको समाचार पनि आएको थियो । तर, त्योबेला आफु एमालेमा प्रवेश नगरेको सांसद कलवार बताए । सांसद कलवारले पार्टी शीर्ष नेताहरुबाट रुष्ट भएर बालकोट पनि पुगेको स्वीकारे पनि एमालेमा प्रवेश नगरेको स्पष्ट पारे । ‘आजबाट जसपामा विधिवत रुपमा प्रवेश गरेको छु,’ उनले भने ।
उनले जसपा आफ्नो पुरानो घर भएको हुनाले पुनः जसपामै फर्किएको बताए । ‘पहिले पनि यसै पार्टीबाट निर्वाचित भएको थिएँ । तर, यो पटक पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र जितेँ,’ उनले भने । यसअघि महोत्तरी २(२) बाट चुनाव जितेका स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३(१) का प्रमोद कुमार जैसवालले जसपामा प्रवेश गरेका थिए । प्रदेशमा मन्त्री परिषद् विस्तार हुँदा सासंद साह सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । यो सँगै जसपाको मधेश प्रदेशमा १९ सांसद पुगेको छ ।






