समाचार प्रभाव : प्रादेशिक अस्पताल जनकपुरको अनधिकृत रुपमा प्रयोग भइरहेको कर्मचारी निवास खाली, तर सांसद यादवको श्रीमतिले अझै टेरिनन्

जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालको अनधिकृत रुपमा प्रयोग भइरहेको कर्मचारी निवास खाली गराइएको छ ।
नागरिक मिररले माघ ४ मा ‘जनकपुर प्रादेशिक अस्पतालको कर्मचारी निवास अझै पूर्व कर्मचारी तथा उनीहरुको आसेपासेको कब्जामा’ सम्बन्धी समाचार प्रकाशन गरेको थियो ।
समाचारको प्रभाव स्वरुप अस्पताल प्रशासनले अनधिकृत रुपमा प्रयोग भइरहेका कर्मचारी निवास खाली गराएको छ ।
अस्पतालबाट सरुवा भइसकेका र सेवा अवधि सकिसकेका पूर्व मेसुदेखि डेढ वर्ष अघि सरुवा भइसकेका कर्मचारीहरूले निवासमाथि कब्जा जमाइरहेका थिए ।
अस्पतालले गत मङ्सिर २८ मा सूचना जारी गर्दै अनधिकृत रुपमा कर्मचारीहरूले प्रयोग गरिरहेका निवासहरू पुस मसान्तभित्र खाली गर्न भनेपनि कर्मचारीले माघ महिना लागेपनि खाली गरेका थिएनन् । तर, नागरिक मिररको समाचार र अस्पताल प्रशासनको ताकेता पछि एकजना बाहेक अन्य सबैले कर्मचारी निवास खाली गरेर साँचो प्रशासनलाई बुझाइसकेका छन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति स्तरीय निर्णय अनुसार अस्पताल मातहतको तालिम भवन र कर्मचारी निवास पुस मसान्त भित्र खाली गर्न भनिएको थियो । तर, धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (क) का सांसद शेष नारायण यादवका श्रीमति प्रेमा ढकालले लिएको कर्मचारी निवास अझै खाली भएको छैन ।
नाम नखुलाउने शर्तमा अस्पतालका एकजना कर्मचारीले भने, ‘स्टाफ नर्सको रुपमा कार्यरत ढकालले आफ्नो नाममा कर्मचारी निवास लिएकी छन् । तर, उनी अस्पतालको कर्मचारी निवासमा बस्दिनन् । सम्भवतः उनको आफन्त उक्त निवासमा बसिरहेका छन् ।’
अस्पतालका उप निर्देशक डा.केडी दासले ढकालको बारेमा उनलाई जानकारी गराइएको र सक्दो चाडो खाली गर्न भनिएको बताए ।
उनले अनधिकृत रुपमा प्रयोग हुँदै आएको कर्मचारी निवास लगभग सबै खाली भइसकेको र ढकालको विषयमा उनलाई खाली गर्न भनिएको जानकारी गराए । उनले अटेरी गरेमा विकल्प खोजिने पनि बताए ।
अस्पतालको कर्मचारी निवासमा पूर्व मेसु डा.प्रमोद यादव, पूर्व स्टाफ नर्स गीता थापा, स्टाफ नर्स निसा थापा, अस्पतालका कर्मचारी सञ्जिता यादव लगायतले सरुवा भइसकेको अवस्था, सेवा निवृत्त भइसकेको तथा आफू नबसेर आफ्ना आफन्तलाई दिएर भोगचलन गर्दै आएका थिए ।
यो पनि :
जनकपुर प्रादेशिक अस्पतालको निवास अझै पूर्व-कर्मचारी तथा उनीहरुको आसेपासेको कब्जामा






