गुणस्तरीय जनशक्ति उत्पादनका लागि ऐन, नियम परिमार्जन गर्न तयार छौं : स्वास्थ्य मन्त्री गिरी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले प्राविधिक शिक्षाका लागि ठूलो सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिनु परिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को २७ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री गिरीले स्वास्थ्य क्षेत्रको प्राविधिक शिक्षाका लागि ठूलो सङ्ख्यामा विद्यार्थीहरू बाहिर गइरहेको र त्योसँगै नेपालबाट ठूलो धनराशीपनि बाहिरिरहेको चिन्ताको विषय भएको बताए ।
उनले नेपालमै गुणस्तरीय जनशक्तिका लागि ऐन, नियम परिमार्जन गर्नुपर्ने बहसको आवश्यकता रहेको बताए ।
मन्त्री गिरीले स्वास्थ्य क्षेत्र प्राविधिक क्षेत्र भएकाले यसमा गर्नुपर्ने परिमार्जन, सुधारका लागि आफू तयार रहेको र सम्बन्धित निकायलाई के गर्दा नेपालको स्वास्थ्य क्षेत्र उत्कृष्ट बन्न सक्छ त्यसका लागि मिलेर अघि बढ्न पनि आग्रह गरे ।
उनले स्वास्थ्य क्षेत्रको गुणस्तरीयता कायम गर्नका लागि कुन नियम, कानून वा ऐन परिमार्जन गरेर सहज हुन्छ त्यसलाई छलफल र बहस गरेर अघि बढ्न आफू तयार रहेको तर, भएका ऐन नियम मान्दिन भनेर कसैले भन्न नमिल्ने पनि उल्लेख गरे ।
मन्त्री गिरीले नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको जिम्मेवारी अनुसार परिषदले गरेको काम सराहनीय रहेको भन्दै यसले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा गुणस्तरीयता कायम गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री गिरीले सबैको सहकार्यले उत्कृष्ट कामका लागि आफू लागि रहेको र आगामी दिनमा यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।






