दिलीप महतोको हत्या आरोपी ३ जना दोषी ठहर

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकास्थित औरही खोलामा भइरहेको अवैध बालुवा गिट्टीको उत्खननको विरोध गर्दा मारिएका ओम प्रकाश महतो(दिलीप) को हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ ।

२०७६ पुष २५ गते जिल्लाको मिथिला नगरपालिका ५ श्रीपुरका दिलीप भनेर चिनिने ओमप्रकाश महतोको हत्यामा संलग्न विपिन महतो, जितेन्द्र महतो र मुनिन्द्र महतोलाई अदालतले दोषी ठहर गरेको हो । बुधबार जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले उनीहरु दोषी ठहर भएको स्रेस्तेदार विकास बस्नेतले बताएका छन् ।

कसुरदार ठहर भएका विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन् भने जितेन्द्र र मुनिन्द्र त्यहाँ कार्यरत कामदार हुन् । फागुन १२ गते उनीहरूमाथि सजाय निर्धारण हुने स्रेस्तेदार बस्नेतले बताए ।

सो घटनामा फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रुरतापूर्वक प्रहार गरी मृतक महतोको जिउमाथि टिपर चलाइएको थियो । यता महतोको हत्या आरोपी क्रसर उद्योग सञ्चालक विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुधन महतो र रोशनकुमार महतोलाई भने अदालतले सफाइ दिएको छ । अभियोग बमोजिम प्रमाण नभेटिएपछि उनीहरूलाई सफाइ दिएको स्रेस्तेदार बस्नेतले बताए ।

प्रतिक्रिया