मधेशमा गुटबन्दीका कारण माओवादी विसर्जनको दिशामा !

नेकपा (माओवादी केन्द्र) मा देखिएको गुटबन्दीका कारण मधेश प्रदेशको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा नराम्रो गरी हार व्यहोर्यो । दुवै चुनावमा टिकट वितरण गर्नका लागि पार्टीले मापदण्ड बनाएको थियो । तर, माओवादी केन्द्रका शीर्ष नेताहरू जो मधेशमा गुटबन्दी चलाई रहेका छन् उनीहरूको गुटबन्दीका कारण मापदण्ड मिचेर आआफ्ना नजिकका व्यक्तिलाई टिकट वितरण गरेका कारण पुरै मधेशमा त्यसको असर देखियो ।
स्थानीय चुनावमा माओवादीले मधेशको १ सय ३६ स्थानीय तहमध्ये नौ ठाउँमा मात्रै जित्यो । सात वटा नगरमा मेयर र दुई गाउँपालिकामा अध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै, पाँच नगरमा उपमेयर र चार गाउँपालिकामा उपाध्यक्ष चुनिएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले मधेश प्रदेशको २१ स्थानीय तहमा प्रमुख जितेको थियो । जसमा मेयर १३ र आठ अध्यक्ष थिए । त्यस्तै, १८ उपमेयर र ६ उपाध्यक्ष निर्वाचित भएका थिए ।
यस पटक माओवादी केन्द्रबाट मधेशमा १ सय ३९ वडाध्यक्ष, १ सय ४० महिला सदस्य, १ सय ३४ दलित महिला सदस्य र २ सय ४९ सदस्यले जितेका छन् । सबै गरेर मधेशमा माओवादीका ६ सय ८० जनप्रतिनिधि आएका छन् । त्यस्तै, आम चुनावमा पनि माओवादी केन्द्र २०७४ को तुलनामा कमजोर देखिएको छ ।
अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधि सभामा पाँच सिट जितेकामा यसपटक प्रतिनिधि सभामा एक र प्रदेश सभामा छ सीट मात्र जितेको छ । यसरी मधेशमा माओवादी कमजोर हुनुमा नेताहरू बीचको गुटबन्दी नै मुख्य कारण देखिएको छ ।
गुटबन्दी गर्ने मुख्य नेताहरूले स्थानीय, जिल्ला तथा प्रदेशका नेताहरूको कुरा नसुनी आफ्नो मनमौजी गरेको कारण मधेशमा माओवादी समाप्तीको दिसामा पुगेको छ । मधेशमा माओवादीलाई जोगाउने एउटै उपायको गुटबन्दी अन्त्य र नेतृत्व परिवर्तन । मधेशका पार्टी समितिमा व्यापक फेरबदलको अवस्था रहेको छ ।
पार्टीको मापदण्ड अनुसार चुनाव जित्नेलाई टिकट दिने, त्यो विकल्प भएन भने मात्र पहिला चुनाव जितेकालाई टिकट दिने थियो तर पार्टीका नेताहरूले विगतमा भ्रष्टाचार गरेको, राम्रोसँग पालिका सञ्चालन नगरेको, बदनाम भइसकेका नेतालाई टिकट दिएको कारण पार्टीका अन्य कार्यकर्ता तथा मतदाताहरू निराश भएर अन्य पार्टीलाई मतदान गरेको हो ।
पहिला पार्टीको टिकट लिएर चुनाव जिते तर न जनताको लागि काम गर्न सके, न पार्टीका लागि । आफ्नो र आफ्नो परिवारका लागि भ्रष्टाचार गरे सम्पत्ती कमाए फेरि त्यस्तै व्यक्तिलाई पार्टीका नेताहरुले टिकट दिएपछि मतदातालाई चित्त दुख्यो र आफ्नो मत डाइभर्ट गरे । पार्टी भित्रकै नेताहरुले टिकट खरिद बिक्रि गरेको आरोप पनि लाग्ने गरेको छ । पहिलो चरणमा आफन्तलाई टिकट दिने, त्यहाँबाट पुगेपछि अरुलाई दिनुपर्दा पैसामा टिकट बेचेको पनि गुनासो जिल्ला तथा प्रदेशमा सुनिएको छ ।
सात वटै प्रदेशमध्ये मधेश प्रदेशमा नै माओवादीको संगठन खराब छ । त्यसको जिम्मा कसले लिने ? जो मधेशमा राजनीति गरिरहेका छन्, मधेशको नाममा जसले पार्टीमा भागबण्डा पाइरहेका छन् ती नेताले त्यसको जिम्मा लिनुपर्छ । मधेशमा केही हुँदा ती नेताहरू भागबण्डा गर्ने तर, पार्टी बिग्रिदा त्यसको जिम्मेवारी किन नलिने ? पार्टीका कार्यकर्ता पङ्क्तिले गुनासो गरिरहेका छन् । पार्टीमा न अनुशासन छ, न विधि छ, न कुनै गतिविधि नै । मधेश प्रदेशमा माओवादी पार्टी पुरै ठप्प जस्तै छ ।
सिरहा जिल्लामा नौ जना केन्द्रीय सदस्य छन् । तर, एकजना सांसद जिताउन सकेनन् । उनीहरूले नैतिकताको आधारमा राजीनामा दिनु कता हो कता समिक्षा बैठक समेत बसाउश सकेको छैनन् । त्यस्ता नेताहरूबाट पार्टीका युवाहरूले के अपेक्षा गर्ने, पार्टीबाट युवा नेताहरू पलायनको अवस्थामा पुगिसकेको छ तर पार्टीका शीर्ष नेताहरूलाई त्यसको मतलब छैन ।
मधेश प्रदेशको पार्टी दुई जना नेताका व्यक्तिगत स्वार्थका कारण पार्टी अनिर्णयको बन्दी बनेको छ । मधेश प्रदेशमा हालसम्म पार्टीको बैठक बस्न सकेको छैन । सम्मेलन हुन सकेको छैन । कमिटी निर्माण हुन सकेको छैन ।
अहिले प्रदेश इन्चार्जको तजबिजमा परायोजित नेताहरूबाट मधेश प्रदेशमा माओवादी केन्द्र सञ्चालन भइरहेको छ । यस्ता नेताहरूका कारण न पार्टीलाई गतिशिल गराउन सकिरहेको छ न पार्टीलाई नेतृत्व दिन सकेको रहेको छ । यस्तो कारणल पुस्तान्तरणको कुरा धेरै टाढाको कुरा भएको छ । पार्टीभित्र नेतृत्वको पुस्तान्तरण गर्न सकिएन भने ढिलो चाँडो माओवादी मधेशबाट बढारिने छ ।
माओवादीमा जुन वर्ग नेतृत्व गर्दै आएको थियो । त्यो वर्गको साथ छाड्दै पार्टी बुर्जुवा शैली तथा पूँजीपतीको वर्गमा रुपान्तरण हुँदैछ । माओवादी केन्द्र त सत्ताविना बाँच्न सक्दैन कि जस्तो नेताहरूलाई लाग्न थालेको छ ।
कुनै समय माओवादीमा समावेशी समानुपातिकको वकालत हुन्थ्यो, त्यसको बारेमा बहस हुन्थ्यो तर अहिले त जो एकपटक नियुक्ति खायो उ जिवनभर त्यसैमा टाँसिएका हुन्छन् । पटक पटक उसैले नियुक्ति र अवसरहरु पाउने अवस्थाको सृजना भएको छ । समावेशीलाई पार्टीले तिलाञ्जली दिएको छ ।
आफ्नै पार्टीका व्यक्ति सरकारमा मन्त्री भए पनि गुट न मिलेपछि काम नै गर्दैन । सिधै यो त फलानो गुटका, फलानो नेताका कार्यकर्ता भनेर काम गर्न मान्दैन । यो रोग सङ्घ, प्रदेश र स्थानीय तहसम्म फैलिएको छ । पार्टीका नेताहरू आफू खाउ, आफू लगाउ, आफू गुट बनाउ बनाउ प्रवृतिबाट अगाडि बढी रहेका छन् । यहाँ गुटको भक्तिभाव र आशिर्वादको चनाअमृतबाट चेलाहरु मुर्ने र हनुमन्तेवादको माला जपेर शिष्य निर्धारण गरिन्छ । यो तरिकाले न पार्टी बन्छ, न पार्टीले लिएको उद्देश्य पुरा हुन्छ । पार्टीको नाममा होनहार युवाका जीवन मात्र बर्बाद हुन्छ ।
(लेखक यादव माओवादी केन्द्रका युवा नेता हुन्)






