जनकपुर ११ का वडाध्यक्ष र सचिव ५० हजार घुससहित रंगेहात पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।

कानुनसम्मत गर्नुपर्ने कामका लागि पनि सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीहरुलाई अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रवक्ता दाहालका अनुसार वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए ।

सो सम्बन्धमा आयोगमा जानकारी र उजुरी परेपछि निगरानी गरेको अख्तियारको टोलीले जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी हस्पिटल नजिकबाट सेवाग्राहीसँग घुस लिइसकेपछि रंगेहात पक्राउ गरेको हो ।

प्रतिक्रिया