चार वर्ष पुरानो मामिलामा भारतीय काँग्रेसका नेता राहुल गान्धीलाई सजाय, सांसद पद पनि खारेज

एजेन्सी । भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ ।
भारतीय लोकसभाले राहुल गान्धीको संसद पदको सदस्यता शुक्रवार खारेज गरिदिएको हो ।
चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजाय भएपछि लोकसभाले शुक्रवार उनको सदस्यता पद खारेज गरिदिएको हो ।
लोकसभा सचिवालयले एक सूचना जारी गर्दै यसको जानकारी दिएको हो ।
केरला राज्यको वायनाड लोकसभा सिटका सांसद राहुल गान्धीलाई सजाय सुनाए पछि २०२३ मार्च २३ बाट सांसद पद अयोग्य ठहरिएको सूचनामा उल्लेख गरिएको छ ।
भारतीय संविधानको अनुच्छेद १ सय २ (१) र जन प्रतिनिधित्व अधिनियम, १९५१ लाई आधार मानेर यो निर्णय गरिएको हो ।
यसअघि, राहुल गान्धीलाई गुजरातस्थित सुरतको एक अदालतले चार वर्ष पुरानो आपराधिक मानहानी मामिलामा २ वर्षको सजाय सुनाएको थियो । साथै अदालतले २५ हजारको जरिवाना पनि तोकेको छ ।
सन् २०१९ मा ‘मोदी थर’ लाई लिएर राहुल गान्धीको एक टिप्पणीसँग सम्बन्धित यो घटना हो । जसमा राहुल गान्धीले नीरव मोदी, ललित मोदी र अन्यको नाम लिँदै भनेका थिए, “कस्तो सबै चोरको थर मोदी रहेछ ?”
पछिल्लो समय राहुल गान्धीलाई लिएर भारतमा राजनीतिक माहोल तातिएको छ । उनले संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका व्यवसायी गौतम अडानीलाई एकाएक विश्व प्रसिद्ध बनाएको भन्दै आरोप लगाएका थिए भने केही समय अगाडी बेलायतमा पनि सम्बोधनको क्रममा मोदी नेतृत्त्वको सरकारमाथि प्रश्न उठाएका थियो । जसको मोदी नेतृत्त्वको सरकारले विरोध गर्दै राहुल गान्धीलाई माफी माग्नुपर्ने माग उठिरहेको थियो ।