सर्लाही क्याम्पसको स्ववियु निर्वाचन रद्दको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर

जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट विद्यार्थी सङ्गठनहरूले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका छन् ।

गत चैत्र ५ गने सम्पन्न स्ववियु निर्वाचन मिश्रित प्रणालीमा नभएको भन्दै दुबै पार्टी निकटका विद्यार्थी सङ्गठनहरूले आइतवार उच्च अदालत जनकपुरमा मुद्दा दायर गराएका हुन् ।

विद्यार्थी सङ्गठनहरूको लामो सङ्घर्ष र बलिदानीबाट स्ववियु निर्वाचन मिश्रित प्रणालीमा प्रत्यक्ष र समावेशी समानुपातिकसहित हुनुपर्नेमा सर्लाही क्याम्पस, मलङ्गवाले मूल्य मान्यता विपरीत निर्वाचन गराएको हुँदा उक्त निर्वाचन रद्द गरी पुनः निर्वाचनको मागसहित मुद्दा दायर गरेको निवेदक रमेश कुमार यादवले बताए ।

सर्लाही क्याम्पसले एकलौटी ढङ्गले बदनियतपूर्ण सङ्गठनहरूलाई निरुत्साहित र सखाप नै पार्ने नियतले गत चैत्र ५ गते स्ववियु निर्वाचन गराएको हुँदा त्यसलाई रद्द गरी पुनः त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन निर्देशिका २०७९ बमोजिम निर्वाचन गराउन संयुक्त रुपले दुबै विद्यार्थी सङ्गठनले रिट दायर गरेको अर्का निवेदक श्याम बिहारी साह केशरीले बताए ।

समाजवादी विद्यार्थी युनियन नेपालको तर्फबाट केन्द्रीय अध्यक्ष रमेश कुमार यादव र लोकतान्त्रिक विद्यार्थी सङ्घको तर्फबाट युवा विद्यार्थी नेता मिथलेश यादवसहित केन्द्रीय सदस्य श्याम साह केशरीद्वारा संयुक्त रूपमा त्रिभुवन विश्वविद्यालय र सर्लाही क्याम्पस, मलङ्गवाको क्याम्पस प्रशासन तथा स्ववियु निर्वाचन समितिविरुद्ध मुद्दा दर्ता गराइएको हो ।

प्रतिक्रिया
    ट्याग: