सांसद राजकिशोरका ससुराले मेरो सर्वस्व नै लुटिसके…[भिडियोसहित]

काठमाडौं । सिरहाका विरेन्द्र कुमार यादव सांसदकै ससुराबाट पीडित भएका छन् । त्यो पनि थोर बहुत रकमका कारण होइन, आफ्नो सर्वस्व नै गुमाउनु परेको छ ।
उनले सिरहाका रामसेवक यादव नाम गरेका साहुबाट २०६९ सालदेखि २०७५ सम्म गरेर ६५ लाख रुपैयाँ ऋण लिएका थिए । जसको उनले मूलसहित हालसम्म ४ करोडभन्दा बढी रकम बुझाइसकेका छन् ।
त्यतिमात्रै होइन साहु रामसेवकले उनको एक बिगाहा ९ कट्ठा जग्गा पनि आफ्नो नाममा पास गराइसकेका छन् । जसको रकम करोडौंमा पर्न जान्छ ।

साहु रामसेवक यादव सिरहा ४ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद राजकिशोर यादवका ससुरा हुन् ।
आफ्नो गुनासो लिएर सांसद यादव कहाँ गएको तर, उनका ससुराले आजभोली गर्दागर्दै समय बिताउने गरेको पीडित विरेन्द्र कुमार यादवको छ ।
मिटरब्याजीको पीडा ज्यानै लिनेसम्मको भएपछि १३ दिनको यात्रा गरेर मधेश प्रदेशका ८ वटै जिल्लाबाट पीडितहरू यतिबेला काठमाडौंमा छन् । मार्चपास गर्दै विरेन्द्र पनि काठमाडौं आइपुगेका हुन् । उनले काम विशेषले लिएको ऋणको करोडौं रकम तिरिसक्दा पनि साहुले करोडौंको जग्गा आफ्नो नाममा पास गराइ फिर्ता गर्न नमानेपछि उनी काठमाडौं आएका हुन् ।
यादव भन्छन्, ‘साहुलाई मैले पैसा जम्मा गरिसके अब मेरो जग्गा फिर्ता गरिदिनुस भन्दा पनि मान्दैनन् । कमाएको रकम पनि सबै उनलाई नै तिर्नमा गयो । भएका जग्गा पनि उनैले लियो । फिर्ता नै गर्दैन अनि कसरी गुजारा गर्ने पिर छ ।’
तपाईंले यो विषयमा किन सांसद राजकिशोरलाई भन्नुभएन प्रश्नमा उनी भन्छन्, ‘भनेको हुँ । प्रमुख जिल्ला अधिकारीकै रोहवरमा कुराकानी पनि एकपटक भयो । तर, साहु रामसेवकले जग्गा फिर्ता गर्न मानिरहेका छैनन् । राजनीतिक संरक्षणका कारण उनले यो सब गरिरहेको छ ।’
साहुले जग्गा फिर्ता गर्न नमानेपछि यसै वर्षको भदौमा विरेन्द्रले जिल्ला प्रशासन कार्यालयमा मुद्दा पनि दर्ता गराएका छन् । तर, न्याय पाइएको छैन ।
















